बैशाख १३, २०८१, बिहीबार
               

ठूला नेताप्रति आक्रामक बन्दै राजेन्द्र लिङ्देन

नेपाल फ्ल्यास
पुस २३, २०७८

ADVERTISEMENT

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन ठूला नेताहरूप्रति आक्रामक बन्दै गएका छन् ।

का‌ंग्रेस महाधिवेशनको उद्घाटन समारोहमा गाउँमा नेता आउँदा कुन चोर आएछ भनेर मानिसहरूले भन्न थालेको बताएर चर्चामा आएका लिङ्देनले उच्च राजनीतिक तहका नेताहरूविरुद्ध फायर खोलेका हुन् ।

कैलालीमा बिहीबार भएको आमसभामा अध्यक्ष लिङ्देनले ठूला भ्रष्टाचारका काण्डहरूमा दलका शीर्ष नेताहरूको मिलेमतो रहने गरेको आरोप लगाएका हुन् ।

सुदूरपश्चिम प्रदेशस्तरीय आमसभामा लिङ्देनले पूर्वप्रधानमन्त्रीहरूलाई ललिता निवास जग्गा प्रकरणमा जोगाउने खेल भइरहेको बताए । उनले भने- ‘ललिता निवास जग्गा प्रकरणको कुरा फेरि उठेको छ । ललिता निवास र वाइडवडी जहाज खरिदजस्ता ठूला भ्रष्टाचारका काण्डमा सबै राजनीतिक दलहरूको मिलेमतो र संलग्नता  छ । तर ती प्रकरणमा जोडिएका पूर्वप्रधानमन्त्रीसमेतका नेताहरूलाई जोगाइँदै छ । भ्रष्टाचारीलाई उन्मुक्ति दिने प्रपञ्च गरिँदै छ ।’

उनले तीन दशकदेखि शासन चलाइरहेका नेताहरू असफल र अक्षम भएको आरोप पनि लगाए । उनले प्रश्न गरे- ‘३१ वर्षयता देश कहाँ पुग्यो । अहिले रजगज गर्ने नेताहरूले देश बनाउनु भयो त ?'

अध्यक्ष लिङ्देनले देश बिग्रिएमा शेरबहादुर देउवा, केपी ओली, प्रचण्ड, माधव नेपालहरूलाई कुनै फरक नपर्ने बताउँदै उनीहरूले मुलुकका युवाको भविष्यमाथि खेलबाड गरिरहेको तर्क गरे ।

लिङ्देनले लोकतन्त्र र जनताको सर्वोच्चताप्रति राप्रपा प्रतिबद्ध रहेको बताए । उनले लोकतन्त्रका नाममा राजनीतिलाई पेसा बनाएर जीविका चलाउने गलत प्रवृत्तिविरुद्ध राप्रपा अघि बढेको बताए ।

उनले राजसंस्था र हिन्दू राष्ट्र कायम गरी देशमा विकास र सुशासन गर्ने आफ्नो पार्टीको सोच रहेको बताए । राप्रपाका निवर्तमान अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले देशमा सक्रिय राजतन्त्र नभई राष्ट्रिय एकताका लागि राजसंस्था र हिन्दू पहिचानसहितको व्यवस्था आवश्यक भएको उल्लेख गरे ।


कस्तो लाग्यो ?

यो पनि