मंसिर ०२, २०८१, आइतबार
               

विवेकशील साझा: न साझा, न त विवेकशील नै

नेपाल फ्ल्यास
पुस ०६, २०७८

ADVERTISEMENT

आफूलाई नेपालको वैकल्पिक राजनीतिक शक्ति भएको दाबी गर्दै आएको विवेकशील साझा पार्टी यतिबेला फुटको संघारमा छ । 

२०७७ साल मंसिर २४ गते तत्कालीन विवेकशील नेपाली दल र साझा पार्टीबिच एकीकरण सम्झौता पत्रमा हस्ताक्षर गर्दै दुई पार्टी एकीकरण भई ‘विवेकशील साझा पार्टी’ गठन भएको थियो । तर, एकताको ३ सय ७६ औँ दिनमा पार्टीमा औपचारिक रूपमा फुटको घोषणा हुन मात्र बाँकी छ । 

विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डे समूहले पार्टी सुदृढीकरण अभियानको केन्द्रीय समिति घोषणा गरेपछि तत्कालै अध्यक्ष रवीन्द्र मिश्र पक्षले संयोजक पाण्डेलाई पार्टीबाट निष्कासन गरेको छ ।  सो पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको मंगलबार बसेको बैठकले संयोजक पाण्डेलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको मिश्रले जानकारी दिए । 

पार्टीको सदस्यसमेत नरहने गरी निष्कासन गरिएको भनिएको छ । केही दिनअघि मिश्रले पाण्डेलाई स्पष्टीकरण सोधेका थिए । त्यसको जवाफ पाण्डेले दिएका थिए । 'पार्टीले दिएको समय सीमाभन्दा एक दिन ढिलो गरी सञ्चारमाध्यम समेतबाट सार्वजनिक तपाईंको स्पष्टीकरणमा तपाईँसँग सोधिएका प्रश्नको यथार्थ, तथ्यपरक र चित्तबुझ्दो जवाफ नआएको केन्द्रीय कार्य सम्पादन समितिको ठहर छ', पाण्डेलाई पठाइएको पत्रमा भनिएको छ । 

पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको पुस ६ गते बसेको बैठकले विवेकशील साझा पार्टीको विधान २०७८ को भाग ७ (३१.१) को अधिकार प्रयोग गर्दै पाण्डेलाई आजकै मितिदेखि लागू हुने गरी पार्टीको सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको पत्रमा उल्लेख छ ।

उता पाण्डे पक्षले भने एकीकरण भएको मितिले ६ महिनाभित्र एकता महाधिवेशन गर्ने कार्यभारबाट विमुख भएर पश्चगामी, संविधान विरोधी र व्यवस्था विरोधी विचार अङ्गाल्दै पार्टीको एक जना कार्यकारी नेताले मार्ग परिवर्तन गरेपछि पार्टीमा अन्यौलता सिर्जना भएकोमा आफूहरू दुःखी भएको जनाएको छ । 

एकीकरणको एक पक्षको नेतृत्व गर्ने पार्टी संयोजक, पार्टीका शीर्ष नेताहरूको तर्फबाट आम सदस्यहरूलाई पार्टीको ‘मूल बाटो’ स्मरण गराउने र निर्वाचन आयोगमा पार्टीमा भइरहेका अवैधानिक क्रियाकलापको जानकारी सहित निर्वाचन आयोगमा उजुरी गरिएको भन्दै पाण्डे समूहले उक्त उजुरीमा आयोगले अन्तिम निर्णय गर्न बाँकी नै र आयोगबाट न्याय नपाए अदालत जाने तैयारीमा रहेको जनाएको छ । 

मिश्र पक्षले निष्कासन गरेका संयोजक मिलन पाण्डेले अवैधानिक कारबाहीका प्रोपोगान्डाले विचलित नहुने बताएका छन् ।

मिश्रले राजसंस्थाको वकालत गर्दै संघीयता खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रह गर्ने प्रस्ताव अघि सारेपछि पाण्डे समूह असन्तुष्ट बन्दै आएको थियो । पुरानो विषयतर्फ फर्कन नसक्ने भन्दै पाण्डे समूहले पार्टीलाई अग्रगामी बनाउनु पर्ने बताउँदै आएको थियो । 

विगतमा भएका आन्दोलनहरूको उपलब्धिलाई रक्षा गर्ने र संविधानको पूर्ण पालना गर्ने प्रतिबद्धताबाट पार्टी विचलित भएको भन्दै पाण्डे समूहले समानान्तर गतिविधि गरिरहेको थियो ।

वैकल्पिक बन्न नसकेको शक्ति

वैकल्पिक शक्तिका रूपमा सुरु गरिएको विवेकशील साझा पार्टीमाथि कतिपयले आशा गरेका थिए । कारण थिए, उज्ज्वल थापा । 

उनले नेतृत्व गरेको विवेकशील नेपालीले तत्कालीन परिस्थितिमा उठाएका मुद्दा र पारदर्शिता र सुसभ्य समाजबारेको व्याख्याले धेरैलाई आकर्षित गरेको थियो । पुरानो ढर्रामा चल्ने राजनीतिक दलबाट परिवर्तन र जीवन सुधार हुन नसक्ने ठान्ने युवा पुस्तामाझ विवेकशील फरक पार्टी थियो जसबाट थोरै भए पनि मानिसहरूले आस गरेका थिए । 

त्यस्तै बीबीसीको लाखौँको जागिर छाडेर आएका र राजनीतिज्ञमाथि 'छुरा’ प्रश्न गरेर चर्चामा रहेका रवीन्द्र मिश्र पनि देशमा केही गर्न नयाँ सोच र विचारका साथ राजनीतिमा आउनुलाई विशेषतः युवाले निकै चासोका साथ हेरेका थिए । 

देशमा कांग्रेस र वामपन्थी दलहरूले निरन्तर सत्ताको नेतृत्व गरे पनि देशमा आशातीत विकास र सुशासन कायम नहुँदा र भ्रष्टाचार नियन्त्रण पनि निराश भएका नेपालीमा नयाँ वैकल्पिक शक्तिबाट आशा जागेको थियो । 

त्यसमा जतिबेला मिश्रले पार्टी खोले त्यतिबेला नयाँ राजनीतिक शक्ति वा वैकल्पिक शक्तिको निकै चर्चा चलेको थियो । माओवादी केन्द्रबाट बाहिरिएका पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले पनि नयाँ शक्ति वा वैकल्पिक राजनीतिक शक्तिको वकालत गरिरहेका थिए । जतिबेला भारतमा अन्ना हजारेको आन्दोलनबाट उठेका सामाजिक कार्यकर्ताले अरविन्द केजरीवालले वैकल्पिक राजनीतिक शक्तिको चर्चा गरेर दिल्लीमा जित र वाहावाही कमाइ रहेका थिए । त्यस कारण पनि नेपालमा वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता रहेको वकालत चर्कोसँग भइरहेको थियो । 

गत प्रतिनिधिसभा निर्वाचनमा रवीन्द्र मिश्रले कांग्रेसका प्रकाशमान सिंहलाई मतमा चुनौती नै दिएका थिए । 
तर, त्यस यताका पाँच वर्षामा वैकल्पिक राजनीतिक शक्ति बलियो हुँदै जानु पर्नेमा क्षयीकरण भएको छ । 
राज्यसत्तामा नहुँदा त एक भएर बस्न नसक्ने अवस्थामा रहेका यी र यस्ता वैकल्पिक शक्ति दाबी गर्नेहरूले सम्पूर्ण निर्वाचन क्षेत्रमा संगठन विस्तार गरेर पुराना भनिएका दललाई चुनौती दिने सम्भावनामा क्षयीकरण भएको हो। 

कमजोर आशा 

राजनीतिक दल, सत्ताप्राप्तिका लागि हुने विवादबाट वाक्क भएका मतदातालाई आफ्नो पक्षमा पार्न सकिने सुवर्ण अवसर पाएको विवेकशील साझा फुटबाट जोगिन नसक्दा त्यसको सम्भावना टर्दै गएको देखिएको छ । अध्यक्ष मिश्रले विवेकशीलमाथि कब्जा गर्ने रणनीति अपनाउँदा र पार्टी निर्माणमा आफूहरूको मात्र भूमिका छ भन्ने अहंतावादी सोच तत्कालीन विवेकशील पक्षले राख्दा समस्या देखिएको छ । 

राजनीतिक दल अग्रगामी बन्नुपर्छ । सूचना प्रविधिको अधिकतम प्रयोगमार्फत आफूलाई थप परिष्कृत गर्दै अघि बढ्नु अहिलेको आवश्यकता हो । तर, पुरानै राजनीतिक अवस्थामा फर्कने कुरालाई मानिसहरूले साथ नदिने सम्भावना बढी हुन्छ । त्यसमा पनि वैकल्पिक राजनीतिको वकालत गर्ने अध्यक्ष मिश्रले आफूलाई गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको हिमायती ठान्ने दलहरूबाट भागेर राजतन्त्रको वकालत गर्ने राप्रपा लगायतसँग पौठेजोरी खेल्न प्रयत्न गरेका छन् । यसबाट मानिसहरूले अपेक्षा गरे अनुसारको वैकल्पिक शक्ति बन्ने सम्भावना कमजोर देखिएको छ ।


कस्तो लाग्यो ?

यो पनि