बैशाख ०६, २०८१, बिहीबार
               

अधिवेशन सकिएको साता पुग्दा पनि छैन नेतृत्व चयन

नेपाल फ्ल्यास
मंसिर २३, २०७८

ADVERTISEMENT

नेकपा माओवादी केन्द्र बुटवल उपमहानगर कमिटीको सम्मेलन सुरु भएको ६ दिनसम्म नेतृत्व चयन हुन सकेको छैन । नेतृत्वको विषयलाई लिएर दुई समूहबिच कुरा नमिलेपछि नेतृत्व चयन हुन नसकेको हो । 

मंसिर १८ गते माओवादी केन्द्रले बुटवल उपमहानगर कमिटीको दोस्रो सम्मेलन आयोजना गरेको थियो । तर, नेतृत्व चयन नगरी सोही दिन सम्मेलन सकिएको घोषणा गरिएको थियो । सम्मेलन सकिएको घोषणा गरिएको भए पनि ६ दिन वितिसक्दासमेत नेतृत्व चयनका लागि सहमति जुट्न सकेको छैन । 

स्थानीयस्तरमा सक्रिय नेता,  कार्यकर्ताले बाहिरबाट आएकालाई नेतृत्वमा ल्याउन नचाहने र केही नेताले आफूखुसी नेतृत्व चयन गर्न खोजेपछि विवाद सतहमा आएको हो । सम्मेलनले नगर प्रतिनिधि छनोट गरे पनि पदाधिकारी र प्रदेश प्रतिनिधि छान्न सकेको छैन । नौ जना चयन हुने प्रदेश प्रतिनिधिमा २३ जनाको उम्मेदवारी परेको छ। “माथिका नेताले आफूखुसी प्रतिनिधि छान्न खोज्दा कुरा नमिलेको हो, यहीँबाट छानिनुपर्छ भन्ने हाम्रो माग हो” नगर कमिटीका एक नेताले भने ।

उनले माथिल्लो तहका नेताले बुटवल उपमहानगर कमिटीको सम्मेलनमा भद्रगोल मच्चाएको टिप्पणी गरे । “यस्तो तरिकाले पार्टी चल्दैन, यहाँको अवस्था माथिकालाई थाहा हुँदैन, आफूखुसी गर्ने हो भने सम्मेलन गर्नुको अर्थ छैन” उनले भने । 

रुपन्देहीका संयोजक नारायण  जिसी (निर्मल) र निर्वाचन क्षेत्र संयोजक सन्तोष विश्वकर्माले आफू अनुकूलका व्यक्ति ल्याउन खोजेपछि विवाद चर्किएको उनले दाबी छ । “विधानविपरीत मान्छे ल्याउन पाइँदैन भन्ने हाम्रो भनाइ हो” उनले भने ।

अर्को पक्षले भने मनोज राना, मञ्जु भुसाल, नारायण बन्जाडे, मणि भट्टराईलगायतलाई ल्याउन चाहेका छन् । माओवादी नेता वामदेव क्षेत्री, विनोद पहाडीलगायतका नेताले उनीहरूलाई अगाडि सारेको बताइएको छ । तर, नेता जिसी, विश्वकर्मा र नगर इन्चार्ज रिज्जु श्रेष्ठले उनीहरूलाई नल्याएर आफू पक्षधरलाई ल्याउन खोजेपछि विवाद भएको ती नेताले बताए । 

नेतृत्वमा सहमति जुटाउने गरी तीन दिनअघि बसेको बैठकमा झन्डै हात हालाहालको अवस्था आएको थियो । पार्टी केन्द्रीय अनुशासन आयोगका सदस्य विनोद पहाडीमाथि आक्रमणको प्रयास समेत भएको उनले बताए ।

अहिले दुवै समूह आ–आफ्नो शक्ति सञ्चय गरेर नेतृत्व स्थापित गराउने दाउमा लागेका छन् । स्थानीय नेता कार्यकर्ताले भूगोलमा काम गरेकालाई नेतृत्वमा पठाउनुपर्ने बताउँदै आएका छन् । माओवादी रुपन्देहीका संयोजक नारायण जिसी (निर्मल) ले आन्तरिक कारणले नेतृत्व छान्न ढिलाइ भए पनि केही दिनमा टुङ्गिने दाबी गरे । केही व्यक्तिहरूको स्वार्थ नमिलेका कारण नेतृत्व चयन गर्न नसकिएको बताउँदै उनले प्रदेश प्रतिनिधि शुक्रबार टुङ्गिने उनले बताए ।  

रुपन्देहीका १६ वटा पालिका मध्ये १४ वटामा माओवादीले नेतृत्व टुंगो लगाएको छ । बुटवल उपमहानगरपालिका र ओमसतिया गाउँपालिकामा विवादका कारण नेतृत्व टुंगो लाग्न सकेको छैन ।


कस्तो लाग्यो ?

यो पनि