बैशाख २९, २०८१, शनिबार
               

२३ वर्षमै कांग्रेस महाधिवेशन प्रतिनिधि

नेपाल फ्ल्यास
मंसिर २०, २०७८

कांग्रेसका महाधिवेशन प्रतिनिधि राकेश परियार, जिल्ला सदस्य गोमा राई र अनुष्का बस्नेत ।
ADVERTISEMENT

पार्टीको महत्त्वपूर्ण पदमा पुग्नका लागि कपाल फुलाउने कैयौँ नेता तथा कार्यकर्ता छन् । विभिन्न पार्टीभित्र हुने पदको दौडमा कतिपय सफल हुन्छन् त कतिपय असफल । कतिपय चाहेको पदमा नपुग्दै राजनीतिबाट किनारा लाग्न पुग्छन् । नेतृत्वमा पुग्ने दौडमा खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका २३ वर्षीय राकेश परियारले भने आफूभन्दा ‘सिनियर’लाई पछि पारेका छन् ।

युवा उमेरमै परियार नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि चयन भएका छन् । नेता मान्दै आएका दा(दाइहरू)लाई उनले उछिनेका छन् । प्रतिस्पर्धाका क्रममा उनलाई राजनीतिमा डोर्‍याउने नेता नै पछि परेका छन् ।

कांग्रेस खोटाङको सातौँ जिल्ला अधिवेशनमा परियारले ५९६ मत ल्याउँदा उनका प्रतिस्पर्धीले ३६१ मत पाएका थिए । 

खोटाङबाट कांग्रेसका २५ जना महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । त्यसमध्येका कान्छो प्रतिनिधि बनेका छन्, राकेश । क्रियाशील सदस्यता लिएको दशकौँसम्म पनि महाधिवेशन प्रतिनिधि हुने कतिपयको सपना पूरा हुन सकेको छैन । तर, राकेशले पार्टीको क्रियाशील सदस्यता लिएकै वर्ष महाधिवेशन प्रतिनिधिमा फड्को मारेका हुन् । 

स्थानीय तहको निर्वाचनअघि उनी तरुण दलको हलेसी तुवाचुङ नगर समितिका सह–सचिव बनेर औपचारिक रूपमा राजनीतिमा प्रवेश गरेका थिए । त्यसपछि कांग्रेस निकट दलित संघको जिल्ला सदस्य, नेविसंघका जिल्ला सदस्य र वर्ष दिनअघि तरुण दल दलित तथा विपन्नको केन्द्रीय सदस्य बनेका थिए ।

‘पार्टीमा लामो समयदेखि खट्दै आएको थिएँ । ५ वर्षअघि तरुण दलको नगर समितिमा संगठित भएर राजनीतिमा औपचारिक प्रवेश गरेको हुँ,’ परियारले भने, ‘पार्टी राजनीतिका माध्यमबाट सिंगो दलित समुदायको उन्नतिका लागि पसिना बगाउने सोचमा छु ।’ 

जिम्मेवारीका हिसाबले उनी कतिपय अग्रज नेताभन्दा माथि उक्लेका छन् । आफूले नेता मान्दै आएका अग्रजभन्दा अगाडिको वरियतामा उपस्थिति जनाउनुपर्ने अवस्थामा उनलाई अप्ठ्यारो लाग्छ । कार्यकर्ता मान्दै आएका राकेशलाई आफूभन्दा माथिल्लो वरियतामा देख्दा कतिपय अग्रजलाई पनि अप्ठ्यारो परेको देख्न सकिन्छ । 

यस्तै, २१ वर्षीया अनुष्का बस्नेत कांग्रेसको जिल्ला सदस्यमा निर्वाचित भएकी छन् । सदस्य खस आर्य महिलातर्फ ६०१ मत ल्याएर बस्नेत जिल्ला सदस्य चुनिएकी हुन् ।

यस्तै, २४ वर्षीया गोमा राई पनि केपिलासगढी गाउँपालिकाको महिलातर्फबाट जिल्ला सदस्यमा निर्वाचित भएकी छन् । गोमाले ५२९ मत ल्याएर जिल्ला सदस्य चुनिएकी हुन् । बस्नेत ७ पुस २०५७ र राई ७ कात्तिक २०५४ मा जन्मिएकी हुन् । 

यतिबेला कांग्रेस, एमाले र माओवादी केन्द्र अधिवेशनमा केन्द्रित हुँदा युवाको राजनीतिमा बलियो उपस्थिति देखिएको छ । 


कस्तो लाग्यो ?

यो पनि