बैशाख ३०, २०८१, आइतबार
               

गण्डकी सभापति बनेका 'टिमुरबोटे कैदी'

नेपाल फ्ल्यास
मंसिर १९, २०७८

ADVERTISEMENT

शुक्रराज शर्मा कांग्रेस कास्कीको राजनीतिमा एकछत्र नेता मानिन्छन् । २०४६ मा पहिलो पटक सभापति बनेपछि उनी निरन्तर जिल्लाको राजनीतिक नेतृत्वमा छन् । विपी कोइराला देखि गणेशमान सिंहको आन्दोलनमा उनी कमान्डर भएर काम गरे ।

२०४२ सालको सत्याग्रह र २०४७ सालको जनआन्दोलनको कास्की कमान्डर उनै थिए । पटक पटक जेलमा कोचिएर पनि थाकेनन् उनी । जीवनको उत्तरार्धसम्मको निरन्तर सक्रियता कै कमाई भन्नुपर्छ, शर्मा अहिले गण्डकी प्रदेशको सभापतिमा निर्वाचित भएका छन् ।

शर्मा संसदीय निर्वाचनमा भने सधैँ पराजित नेता हुन् । पार्टीभित्रको चुनाव उनका लागि कहिल्यै अफाप भएन । २०४८ र २०५१  को चुनावमा कास्की-३ बाट टिकट पाए पनि जितेनन् । २०५६ सालमा कांग्रेसले कास्की क्लिन स्वीप गर्दा उनी उम्मेदवार बन्न पाएनन् । त्यसपछि पार्टीभित्रकै राजनीतिमा हराए । शुक्रराजलाई २०७४ को निर्वाचनमा पुनः कास्की-३ बाटै टिकट दिइयो ।  ‘भूतले खाजा खाने बेला पर्‍यो’ भन्ने उखान जस्तै भए शुक्रराज । कम्युनिस्टहरू एक भएको बेला पाएको टिकट उनका लागि वरदान बन्ने सम्भावना थिएन ।

त्यसो त, कास्कीमा कांग्रेस यसै पनि कमजोर मानिन्छ । २०२० सालमा एसएलसी पास गरेका शुक्रराज पर्वतको देउपुर पुगेर स्कुल खोले । त्यहीँ उनले केही समय पढाए । आठ वर्षकै उमेरमा बाबु गुमाएपछि ‘टुहुरे’ शब्दबाट हेपिएका उनले त्यसैलाई बदलाको सूत्र बनाए । २०२३ सालमा गण्डकी छात्र संघको सदस्य बनेर उनको राजनीतिक जीवन सुरु भयो । पञ्चायती चुनावका बेलामा पनि उनी पटक पटक उम्मेदवार बनेर पराजित भएका नेता हुन् । विपी कोइरालाले क्रान्तिको तयारी गर्दै गर्दा शर्मा बिपीलाई भेट्न बनारस पुगेका थिए ।

विपीले दिएका प्रचार सामग्री बोकेर नेपाल आउने र जिल्ला जिल्लामा बाँड्ने काम शुक्रराजको हुन्थ्यो । ‘वीपीकै हातबाट तरुण दलको सदस्य लिएँ । मनमा बडो आनन्द आयो,’ उनले भने, ‘त्यसपछि मैले क्रान्तिको प्रचारप्रसारमा नजिक भएर काम गरेँ । प्रचार सामग्री नेपालका ठाउँ ठाउँमा पुर्‍याएँ ।’ शर्मा टिमुरबोटे काण्डका बेला एमाले अध्यक्ष केपी ओलीसँगै तीन वर्ष जेलमा परेका थिए ।

बिपीका अनुयायी शर्मा गाउँको विकासलाई प्रमुख समाजवाद मान्छन् । भन्छन्, ‘गाउँमा बाटो राम्रो छैन । पानी लिन घण्टौँ लगाएर जानुपर्छ । बिजुली र सञ्चार खासै चल्दैन । नेपालको विकास गर्न गाउँ हेर्नुपर्छ ।’ शिक्षालाई प्रमुख प्राथमिकतामा राखेर राज्यले लगानी गर्नुपर्ने उनको भनाइ छ ।

पहिलो पटक कांग्रेसले संघीय संरचना अनुसार निर्वाचन सम्पन्न गर्दै छ । गण्डकीको अधिवेशन सुरु हुँदासम्म यहाँ उम्मेदवारको टुङ्गो थिएन । संस्थापन पक्षले अर्जुन जोशीलाई टिकट दिएर प्यानल बनाउँदै थियो । संस्थापन इतरबाट पाँच जना आकांक्षी थिए । आफ्नो पक्षका आकांक्षीलाई बोल्न नदिएको भन्दै उनै पाँचै जनाले उद्घाटन सत्रमा हङ्गामा पनि गरे ।

मनोनयनको अघिल्लो रात मुस्किलले शुक्रराजलाई पौडेल पक्षले टिकट दियो । उनी अधिवेशनको केही दिनअघिसम्म सभापति शेरबहादुर देउवासँग जोडिएका खबरहरू थियो । सम्भवतः गण्डकीमा संस्थापन पक्ष कमजोर भएर होला, उनले जिल्ला अधिवेशनपछि त्यो हल्लाहरू चटक्कै छोडेर स्वतन्त्र जस्तो बने ।

‘मैले उम्मेदवारी दिइसकेँ । चुनाव हारे पनि लड्छु, जिते पनि लड्छु भनेर शुक्रराज जीले भन्नुभयो । अब नछोड्ने पक्का भएपछि अरूलाई फकाएर शर्मालाई टिकट दिइएको हो,’ पौडेल पक्षका एक नेताले भने, ‘उहाँको जिद्धिपनले नै टिकट पाउनुभयो ।’ देउवा प्यानलबाट पनि उनले टिकट पाउने चर्चा थियो ।पाँच आकांक्षी मध्येबाट एक्लो उम्मेदवार बनेपछि शर्मालाई अरूले सहयोग गर्दैनन् भन्ने आँकलन पनि थियो । अरू आकांक्षीले कति सहयोग गरे त्यो भन्ने ठाउँ छैन, तर शर्माले भने चुनाव जितिछाडे ।


कस्तो लाग्यो ?

यो पनि