जेठ ०४, २०८१, शुक्रबार
               

नेतृत्वले छवि बिगार्दा कांग्रेसको स्तर खस्कियो : प्रकाशमान सिंह

नेपाल फ्ल्यास
कात्तिक ०४, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले नेतृत्वले परम्परा र मूल्यमान्यता विपरीत काम गरेकाले पार्टी कमजोर भएको बताएका छन्।

बिहीबार धादिङमा भएको कांग्रेस धुनिबेसी नगर समितिको कार्यालय उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै नेता सिंहले १३ औं महाधिवेशनपछि पार्टी नेतृत्वले विधि पद्धति र मूल्यमान्यता पालना गर्न नसक्दा पार्टी कमजोर भएको बताएका हुन्।

विधिसम्मत र संस्थागत रूपमा पार्टीलाई अगाडि बढाउनका लागि सक्षम नेतृत्वको आवश्यकता रहेको उनको भनाइ छ । नेता सिंहले भने, ‘पार्टीका वरिष्ठ नेतालाई सम्मान गर्ने तर अवसर पाउँदा पनि काम गर्न नसक्नेलाई नेतृत्व सुम्पिन हुँदैन। पार्टीको आसन्न १४ औं महाधिवेशन कुनै पनि हालतमा तोकिएकै मितिमा हुनुपर्छ। क्रियाशील सदस्यता विधि र पद्धतिअनुसार वितरण हुनुपर्छ।’

यसअघिको सहमतिअनुसार नै पार्टीको अधिवेशन अगाडि बढाउन नेतृत्वले ध्यान दिनुपर्ने सिंहले बताए। ‘अधिवेशन त समयमै गर्न नसकेको कांग्रेसले कसरी देश विकास गर्न सक्छ?’ भनेर जनताले प्रश्न गर्न सुरु गरिसकेको उनको भनाइ छ। पार्टीलाई ठिक ठाउँमा ल्याउन सबैले विधि र पद्धतिको सही ढङ्गले पालना गर्नुपर्ने उनले बताए। पार्टी सभापतिको गृहजिल्लामा भएको महाधिवेशन प्रहरीको घेराभित्र भएकाले पार्टीको छवि बिग्रिएको उनको आरोप छ। 

अधिवेशन हुँदा सबैलाई पद चाहिने तर पदमा पुगेपछि काम गर्न नसक्ने परिपाटीमा सुधार गर्नुपर्नेमा जोड दिए। राजनीति सेवाको क्षेत्र भएकाले मेवाको आशा गरेर यस क्षेत्रमा लाग्न नहुनेमा उनको मत छ। अब जनताले चाहेको आर्थिक सम्पन्नताको अभियानमा पनि कांग्रेसले नै नेतृत्व गर्ने र त्यसका लागि ठिक नेताको आवश्यक रहेको उनको भनाइ छ।


कस्तो लाग्यो ?

यो पनि