बैशाख १६, २०८१, आइतबार
               

'प्रधानमन्त्री कार्यालयमा छापा मारेर देखाउनुहोस्, जहाँ अर्बौंको भ्रष्टाचार हुन्छ'

नेपाल फ्ल्यास
असोज १७, २०७८

ADVERTISEMENT

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छापा मारेपछि मुख्यमन्त्री लालबाबु राउतको बचाउमा जनता समाजवादी पार्टी (जसपा)ले जुलुस प्रदर्शन गरेको छ ।

अख्तियारले कुनै जानकारी नगराई प्रदेश सरकारको सर्वोच्च कार्याकारीको कार्यालयमा छापामार शैलीमा छापा मारेको भन्दै जसपाले प्रदेश २ का आठवटै जिल्लामा आइतबार विरोध प्रदर्शन गरेको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा राजनीतिक प्रतिशोध लिन तथा संघीयतालाई नै समाप्त गर्ने षड्यन्त्र स्वरूप अख्तियारले यस्तो हर्कत गरेको भन्दै जनकपुरको रेलवे स्टेसनबाट सयौँको संख्यामा जसपा नेता तथा कार्यकर्ताहरूले मोटरसाइकल जुलुस प्रर्दशन गरेका हुन् ।

दिउँसो २ बजे निकालिएको विरोध र्‍याली भानुचोक, शिवचोक, जनकचोक, रामचोक, जानकीचोक, मिल्स एरिया हुँदै पिराडीचोकमा कोण सभामा परिणत भएको थियो । जसपा पार्टीको केन्द्रीय कार्यालयको परिपत्रअनुसार प्रदेशका आठवटै जिल्लामा विरोध जुलुस प्रदर्शन गरिएको जसपाले जनाएको छ ।

विरोधसभालाई सम्बोधन गर्दै प्रदेशका पूर्वआन्तरिक मामिला तथा संचार राज्यमन्त्री सरोजकुमार सिंह कुशवाहाले अख्तियारले राजनीतिक प्रतिरोध साँध्न मुख्यमन्त्री कार्यालयमा छापा मारेकाे आरोप लगाए । प्रदेश सरकारले सुशासन स्थापना गर्ने उद्देश्यले संविधानमा दिएको अधिकारलाई प्रयोग गरी प्रदेश जनलोक पाल गठन गरेसँगै अख्तियारले छापा मारेको राज्यमन्त्री कुशवाहाले दाबी गरे ।

अर्बौं रुपैयाँ भ्रष्टाचार भएको ठाउँमा अख्तियारले चुइँसम्म पनि बोल्न नसक्ने बताउँदै उनले भने, ‘प्रदेश २ लाई कमजोर ठानेर यस्तो गरिएको हो । तर, अख्यितारलाई चुनौती दिन चाहन्छु, हिम्मत छ भने प्रधानमन्त्री कार्यालयमा छापा मारेर देखाउनुहोस्, जहाँ अर्बौंको भ्रष्टाचार हुन्छ ।’

कोणसभामा जसपाका धनुषा अध्यक्ष पशुपति यादवले प्रदेश सरकारको लोकप्रिय कार्यक्रम 'बेटी पढाऊ, बेटी बचाऊ'लाई कमजोर बनाउन अख्तियारले छापा मारेको आरोप लगाए । प्रदेशका छात्राहरूलाई महिला सशक्तीकरण, शिक्षा, महिला हिंसालगायतका क्षेत्रमा सरकारले गरेका उल्लेखनीय कामले प्रदेश सरकार लोकप्रिय भइरहेका बेला अख्तियारले अदृश्य शक्तिको इशारामा यस्तो हर्कत गरेको उनले टिप्पणी गरे । 


कस्तो लाग्यो ?

यो पनि