जेठ ०६, २०८१, आइतबार
               

माओवादी नेता पुनको स्वास्थ्यमा सुधार

नेपाल फ्ल्यास
असोज १७, २०७८

ADVERTISEMENT

माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री वर्षमान पुनको स्वास्थ्यमा सुधार आएको छ । थाइल्यान्डको बैंककस्थित समितिभेज अस्पतालमा उपचाररत पुनको स्वास्थ्यमा सुधार आएको उनको निजी सचिवालयले जनाएको छ । 

पुनको शरीरमा रहेको अत्यधिक जन्डिसको मात्रा घट्दो क्रममा रहेको उपचारमा संलग्न चिकित्सकलाई उद्धृत गर्दै सचिवालयले जानकारी दिएको छ । 

सामान्यतः स्वस्थ मानिसको रगतमा हुने बिलुरुविन नामक तत्त्वको मात्रा १ दशमलव ५ देखि ८ बिन्दुसम्म हुने गर्छ । तर, पुनको रगतमा बिलुरुविनको मात्रा अनियन्त्रित रूपमा बढेर ३४ पुगेपछि चिकित्सकहरूले बैंकक रेफर गरेका थिए । 

तर, अहिले बिलुरुविनको मात्रा घटेर २७ मा आएको उपचारमा संलग्न डा. नाथाभुत सिरिमोन्तापोनले जानकारी दिएका छन् ।  पुन पत्नी एवं पूर्वसभामुख ओनसरी घर्तीका अनुसार चिकित्सकले नयाँ औषधि चलाएका छन् । उक्त औषधिले राम्रो काम गर्न थालेको छ । 

‘नयाँ औषधिले राम्रो काम गर्न थालेको छ’, घर्तीले भनिन्, ‘नेपालबाट आउँदाको भन्दा अहिले राम्रो भएको छ । तर, बान्ता भने रोकिएको छैन ।’ 

खाना खान अरुचि हुने समस्याका कारण पुनलाई स्लाइनको माध्यमबाट खानेकुरा दिइएको छ । जन्डिसको मात्रा अत्यधिक बढेसँगै उच्च ज्वरो आउनुका साथै निरन्तर बान्ता हुन थालेपछि पुनलाई गत आइतबार ललितपुरको सुमेरु अस्पताल लगिएको थियो । 

तर, नेपालमा उपचार कठिन भएको भन्दै चिकित्सकले बैंकक जान सुझाएको थियो । चार वर्षअघि पनि नेपालका विभिन्न अस्पताल र भारतको मेदान्त सिटी अस्पतालमा उपचार सम्भव नभएपछि अत्यन्त जटिल अवस्थामा पुनलाई एयर एम्बुलेन्समार्फत बैंकक लगिएको थियो । पुन जन्मजात जन्डिससम्बन्धी समस्याबाट पीडित छन् । 


कस्तो लाग्यो ?

यो पनि