ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (यूएइ) का राजदूत सइद हम्दन अल–न्वाबीले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच नेपाल र यूएइबीच रहिआएको अपसी सम्बन्धका विविध पक्षमा छलफल भएको छ ।
सो अवसरमा राजदूत अल–न्वाबीले आफ्नो कार्यकालमा द्विपक्षीय व्यापार विस्तार हुनाका साथै आपसी सम्बन्ध विस्तारमा थप योगदान पुगेको बताए । उनले आगामी नोभेम्बर १५–१८, २०२१ मा अबुधावीमा हुने ‘इन्टरनेसनल पेट्रोलियम एक्जिविसन एन्ड कन्फ्रेरेन्स’मा सहभागी हुन आग्रह गरे । सो अवसरमा राजदूत अल–न्वाबीले मन्त्री भुसालले यूएइ सरकारको निमन्त्रणापत्र हस्तान्तरण गरे ।
जवाफमा मन्त्री भुसालले अबुधावीमा हुने सम्मेलनमा आफूलाई निमन्त्रणा गरेकोप्रति त्यहाँको सरकारलाई हार्दिक धन्यवाद व्यक्त गर्दै सम्मेलनको सफलताको कामना गरिन् । उनले आफ्नो सहभागिताबारे परराष्ट्र मन्त्रालयमार्फत जानकारी पठाउने बताइन् । सो अवसरमा मन्त्री भुसालले रोजगारीका सिलसिलामा दुई लाखभन्दा बढी नेपाली यूएइमा रहेको र उनीहरूले सम्मानजनक सुविधा पाउने विश्वास व्यक्त गरिन् ।
उनले कोभिड–१९ महामारीमा पनि त्यहाँ रहेका नेपालीलाई रेखदेख गरेको जनाउँदै मन्त्री भुसालले यूएयी सरकारप्रति धन्यवाद व्यक्त गरिन् । उनले नेपालको ऊर्जा, कृषि, पर्यटनलगायत क्षेत्रमा लगानीका लागि उपयुक्त अवसर रहेको उल्लेख गर्दै त्यहाँका इच्छुक लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरे । सो अवसरमा ऊर्जा मन्त्रालय र परराष्ट्रमन्त्रालयका अधिकारीको सहभागिता थियो ।