जेठ ०४, २०८१, शुक्रबार
               

रवीन्द्र मिश्रले कारबाहीको चेतावनी दिनु हास्यास्पद : संयोजक पाण्डे

नेपाल फ्ल्यास
भदौ २०, २०७८

ADVERTISEMENT

काठमाडौं । विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले पार्टी अध्यक्ष रवीन्द्र मिश्रले पार्टीको विधान र घोषणापत्र विपरीत काम गरिरहेको आरोप लगाएका छन् ।

मिश्रले नेताहरुलाई विभिन्न आरोप लगाउँदै कारबाहीको चेतावनी दिनु हास्यास्पद भएको संयोजक पाण्डेले बताए । 

आइतबार प्रेस विज्ञप्ति जारी गर्दै संयोजक पाण्डेले पार्टीको विधान र घोषणापत्रमा टेकेर गरिने कुनै पनि गतिविधि समानान्तर गतिविधि नभएको बताएका छन् ।

पार्टीको लाइनभन्दा बाहिर गएर वक्तव्यबाजी गरेर मिश्रले चाहिं समानान्तर गतिविधि गरेको उनको भनाइ छ । उनले पार्टी एकताको मर्म नमार्न समेत मिश्रलाई आग्रह गरेका छन् ।

पार्टी एकीकरणको घोषणापत्र नै दस्तावेज भएको भन्दै उनले समान अधिकारसहित मिश्रलाई अध्यक्ष र आफूलाई संयोजक बनाएको उल्लेख गरेका छन् । सम्झौता नै उल्लंघन गर्ने हो भने पदमा बसिरहने नैतिकता नै नहुने उनले बताएका छन् ।

‘सम्झौतापत्र नै लत्याउने हो भने हामी कुन नैतिकताले अध्यक्ष र संयोजक भएर बस्न सक्छौं ? सामान्य नैतिकतालाई नै गुमाएर सुसंस्कृत राजनीति कसरी गर्न सकिएला ?’ पाण्डेले विज्ञप्तिमा भनेका छन्, ‘सुसंस्कृत राजनीति गर्ने दलका नेतृत्वले उत्तर दिने बेला आएको छ । हामीमध्ये कसैलाई पनि वैकल्पिक राजनीतिको ‘अपहरण’ गर्ने छुट छैन । विवेकशील आन्दोलनलाई थाङ्नामा सुताउने अधिकार कसैलाई छैन ।’

पार्टी एकीकरणको सम्झौतापत्र र वैकल्पिक राजनीतिको आन्दोलनप्रति पूर्ण प्रतिबद्ध रहेको जनाउँदै उनले छिट्टै पार्टी मूलबाटोमा फर्किने विश्वास समेत व्यक्त गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि