जेठ ०५, २०८१, शनिबार
               

दैलेखकी १९ वर्षीया किशोरी कांग्रेसको वडा सभापतिमा निर्वाचित

नेपाल फ्ल्यास
भदौ १९, २०७८

ADVERTISEMENT

दैलेख । दैलेखमा १९ वर्षीया किशोरी नेपाली कांग्रेसको वडा सभापितमा निर्वाचित भएकी छन् ।  दैलेखस्थित कांग्रेसका स्वर्गीय नेता भूपेन्द्र महतकी छोरीसमेत रहेकी १९ वर्षीया स्वस्तिका महत दुल्लु नगरपालिका वडा नम्बर ३ मा सभापति निर्वाचित भएकी हुन् । शुक्रबार भएको वडा अधिवेशनका क्रममा कांग्रेसले उनलाई सर्वसम्मत रुपमा वडा सभापति बनाएको हो । उनलाई सभापति बनाउन अन्य दाबेदारले पनि साथ दिएका थिए ।

सानै उमेरमा कांग्रेसको स्थानीय नेतृत्व सम्हालेपछि उनलाई आफन्त, इष्ट मित्र र कांग्रेसजनले बधाई दिइरहेका छन् । कांग्रेसले पछिल्लो समय युवाहरुलाई नेतृत्वमा ल्याउने प्रयास गरिरहेको छ। नेतृत्वमा पाका नेताहरु भए पनि तल्लो तहमा विस्तारै युवाहरुको जमात बढिरहेको छ ।

दुल्लु नगरपालिका प्रमुख एवम् कांग्रेस नेता भुपेन्द्र भण्डारीले युवाहरुलाई नेतृत्वमा ल्याउने पार्टीको नीति अनुसार नै स्वस्तिकालाई वडा सभापति बनाइएको बताएका छन् । स्वस्तिकाका पिता एवम् कांग्रेस दैलेखका तत्कालीन उपसभापति भूपेन्द्रजंग महतको २०७६ कात्तिकमा डेंगु संक्रमणका कारण निधन भएको थियो ।

डेंगु भएपछि उनी उपचारका लागि भारतको दिल्लीस्थित एपोलो अस्पताल पुगेका थिए । भारतको मुम्बई भ्रमणका क्रममा बिरामी परेपछि दिल्लीमा उपचारका क्रममा उनको निधन भएको थियो ।

स्वस्तिका पनि बुवाकै पदचाप पछ्याउँदै कांग्रेसको राजनीति लागेकी छन् । उनलाई सानै उमेरमा कांग्रेसले गाउँको कमाण्ड सुम्पिएपछि अन्य दलका नेताले पनि प्रशंसा गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि