जेठ ०४, २०८१, शुक्रबार
               

कांग्रेसको वडाअधिवेशन ३५ जिल्लामा सम्पन्न

नेपाल फ्ल्यास
भदौ १९, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशन अन्तर्गत आजदेखि प्रारम्भ भएको गाउँ–नगर वडाअधिवेशन ३५ जिल्लामा सम्पन्न भएको छ । 

कांग्रेस क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५६ जिल्लामध्ये ती जिल्लामा वडा अधिवेशन सम्पन्न भएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । अधिकांश वडामा सर्वसम्मत केहीमा मतदानमार्फत वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन भएका छन् ।

अधिवेशन भएका वडाको मत परिणाम केन्द्रमा शनिबारसम्म आइपुग्ने समिति संयोजक महादेवप्रसाद यादवले जानकारी दिए । ५६ जिल्लामध्ये अधिवेशन हुन बाँकी जिल्लामा वडा अधिवेशन शनिबारदेखि भदौ २३ गतेसम्म सम्पन्न हुने उनले बताए ।

यस बाहेक क्रियाशील सदस्यता नामावली प्रकाशन हुन बाँकी २१ जिल्लाको नामावली भने क्रमशःप्रकाशित हुँदै जाने र यही भदौ २७ गते निर्धारित गाउँ–नगरपालिका अधिवेशनसम्म सबै वडाको अधिवेशन सम्पन्न हुने पार्टी कार्यालयले जनाएको छ ।
 
करिब नौ लाखको सङ्ख्यामा रहेका कांग्रेस क्रियाशील सदस्य पार्टीको गाउँ–नगर वडाअधिवेशनका मतदाता हुन् । क्रियाशील सदस्यले आफने वडाको वडासमिति र क्षेत्रीय प्रतिनिधिको चयन गर्छन ।

वडा अधिवेशनले आफूमध्येबाट सभापति एक, उपसभापति दुई, सचिव दुई र सहसचिव दुईगरी सात पदाधिकारी निर्वाचित गर्ने कांग्रेसको विधानमा व्यवस्था छ । 

यसबाहेक वडा अधिवेशनमा मतदाता सङ्ख्याको अनुपातका आधारमा वडासदस्य र क्षेत्रीय प्रतिनिधि पनि निर्वाचित हुन्छन् ।

महाधिवेशन अन्तर्गत गाउँ–नगरवडा अधिवेशन आज भदौ १८ गते, गाउँ–नगरपालिका अधिवेशन भदौ २७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन–एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते तोकिएको छ ।

यसैगरी कांग्रेसले एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरेको छ ।  


कस्तो लाग्यो ?

यो पनि