जेठ ०४, २०८१, शुक्रबार
               

कांग्रेसको थप पाँच जिल्लाका क्रियाशील सदस्यको नामावली सार्वजनिक

नेपाल फ्ल्यास
भदौ १३, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसले १४औँ महाधिवेशनको लागि केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले कार्यसम्पन्न गरेका थप पाँच जिल्लाका क्रियाशील सदस्यको नामावली प्रकाशित गरेको छ ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिले निर्वाचन निर्देशिका २०७८ को दफा १ (ख) बमोजिम शनिबार नुवाकोट, धादिङ, चितवन, ललितपुर र अर्घाखाँचीको क्रियाशील सदस्यको नामावली पार्टीको वेभसाइटमा प्रकाशित गरेको हो ।

क्रियाशील सदस्यताको नामावली प्रकाशित भएका सम्बन्धित जिल्लामा जिल्ला निर्वाचन अधिकृतलाई समेत खटाइएको निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिए ।

समितिले यसअघि बिहीबार ३८ जिल्ला र शुक्रबार १० जिल्लाका गरी कूल ४८ जिल्लाका क्रियाशील सदस्यको नामावली प्रकाशित गरेको थियो । क्रियाशील सदस्यताको नामावली प्रकाशित गरेसँगै यही भदौ १८ गते तोकिएको वडा अधिवेशनका लागि नेता कार्यकर्ता अधिवेशनमा केन्द्रित देखिएका छन् ।

नवीकरण र नयाँ गरी करिब ९ लाखको सङ्ख्यामा रहेका कांग्रेस क्रियाशील सदस्य पार्टीको गाउँ–नगर वडा अधिवेशनका मतदाता हुन । क्रियाशील सदस्यले आफ्नो वडाको वडा समिति र क्षेत्रीय प्रतिनिधिको चयन गर्ने कांग्रेस विधानमा उल्लेख छ ।

कांग्रेसले १४औँ महाधिवेशनअन्तर्गत गाउँ–नगर वडा अधिवेशन यही भदौ १८ गते, गाउँ–नगरपालिका अधिवेशन भदौ २७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन–एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते तोकेको छ ।

यसैगरी कांग्रेसले एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरेको छ । 


कस्तो लाग्यो ?

यो पनि