जेठ ०४, २०८१, शुक्रबार
               

कांग्रेसले तरुणका समस्या समाधान गर्नुपर्छ : विभाग प्रमुख भण्डारी

नेपाल फ्ल्यास
भदौ ०८, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं तरुण विभाग प्रमुख शंकर भण्डारीले कांग्रेसले तरुणका समस्या समाधानका लागि भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।

राजधानीमा सोमबार नेपाली कांग्रेस तरुण विभागले आयोजना गरेको पार्टीको १४औँ महाधिवेशन सफलताका लागि परिचयात्मक बृहत् छलफल कार्यक्रममा विभागका प्रमुख भण्डारीले कांग्रेसले अहिलेसम्म तरुण युवाका समस्या समाधान गर्न नसकेको गुनासो गरे ।

देशभरका तरुणको ऊर्जाले नै पार्टी बलियो हुने उल्लेख गर्दै उनले उनीहरूले बेहोर्दै आएको बेरोजगारीको समस्या समाधान गर्न कांग्रेस नेतृत्वसँग माग गरे ।

आफ्ना समस्या समाधानका लागि पार्टीलाई दबाब दिनुपर्नेमा जोड दिँदै भण्डारीले कांग्रेसको आसन्न १४औँ महाधिवेशनमा पार्टीका विभिन्न तह र तप्कामा प्रतिनिधित्व गर्न देशभरका तरुणलाई सुझाव दिए ।

तरुणलाई सक्षम र सबल बनाउन आवश्यक रहेको उल्लेख गर्दै उनले त्यसका लागि उनीहरू आफैँ लगनशील, अनुशासित, मर्यादित र निडर हुनुपर्ने बताए । तरुणका सामु मुलुक बनाउने जिम्मेवारी रहेको भन्दै भण्डारीले सक्रियता बढाउन सुझाव दिए ।

तरुणले नै देशमा परिवर्तन गर्नसक्ने उल्लेख गर्दै उनले पार्टीको आसन्न महाधिवेशनमार्फत वडा, गाउँ, नगर, जिल्ला, प्रदेश र केन्द्रमा बढीभन्दा बढी प्रतिनिधित्व गर्न सुझाव दिए ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य डा. डिला सङ्ग्रौलाले तरुणको विचार पार्टीको कार्यदिशा गर्नुपर्ने बताइन् । प्रतिगामीसित लड्न सक्ने क्षमता तरुणसित मात्र भएको उल्लेख गर्दै उनले कांग्रेसलाई पुरानै अवस्थामा फर्काउनका लागि भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइन् । तरुणले नै पार्टीलाई ऊर्जा दिने बताउँदै सङ्ग्रौलाले कांग्रेसको वर्तमान तरुण नै भएको सुनाइन् । 

तरुण युवा पार्टीको मात्रै नभई मुलुकको सम्पत्ति भएको तर उनीहरूलाई अहिलेसम्म महत्वपूर्ण जिम्मेवारी दिन नसकेकामा नेता सङ्ग्रौलाले आपत्ति जनाइन् । कांग्रेसको वैचारिक शक्ति तरुण युवा भएकाले उनीहरूलाई क्रियाशील बनाउन आवश्यक रहेको उनको भनाइ थियो ।

विभिन्न चुनौतीका बीच तरुणलाई अघि बढ्न सल्लाह दिँदै उनले उनीहरूका सामु थुप्रै अवसरसमेत रहेको बताइन् । पार्टीको १४औँ महाधिवेशनको सफलता तरुणसित जोडिएको सुनाउँदै डा सङ्ग्रौलाले अहिलेको अवस्थामा दुविधामा नबस्न देशभरका तरुण युवालाई सुझाव दिइन् ।

कार्यक्रममा तरुण विभागका सचिव श्याम श्रेष्ठ, विभागका विभिन्न तहमा कार्यरत पासाङ नोर्वु शेर्पा, सुनिलबाबु खाती, सरस्वती शाह, राजेशकुमार शाही, नन्दबहादुर विष्ट, हरिहर काफ्ले, रामशरण घिमिरेलगायतले आ–आफ्नो धारणा राखेका थिए । सो अवसरमा विभिन्न पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गर्नेहरूलाई खादा ओढाएर सम्मान गरिएको थियो । 


कस्तो लाग्यो ?

यो पनि