बैशाख ११, २०८१, मंगलबार
               

माओवादी केन्द्रले अन्य कम्युनिष्ट पार्टीसँग एकताको पहल गर्ने

नेपाल फ्ल्यास
भदौ ०६, २०७८

ADVERTISEMENT

नेकपा माओवादी केन्द्रले कम्युनिष्ट क्रान्तिकारी शक्तिहरूसँग एकता र ध्रुवीकरण गर्ने निर्णय गरेको छ । माओवादी केन्द्रकाे शनिबार र आइतबार बसेको स्थायी कमिटीको बैठकले पार्टीलाई व्यवस्थित र संस्थागत गर्दै अन्य पार्टीसँग एकताका लागि वार्ता तथा पहल गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।

क्रान्तिकारी धाराका सबै पार्टीलाई एकै केन्द्रमा ल्याउने गरी पहल गर्ने बैठकले निर्णय गरेको माओवादी नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 'कम्युनिष्ट क्रान्तिकारी शक्तिसँग एकता र ध्रुवीकरणका लागि वार्ता तथा पहल गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ', बैठकको निर्णय सुनाउदै नेता श्रेष्ठले भने, 'एकता र ध्रुवीकरणका लागि सम्भावना भएका सबै शक्तिसँग वार्ता गर्ने निर्णय भएको छ ।'

हालै बसेको केन्द्रीय कमिटीले स्थायी कमिटीलाई दिएको जिम्मेवारी पूरा गर्नेबारे समेत बैठकमा छलफल भएको थियो । 
यसैगरी माओवादीले पार्टीका विभागीय प्रमुख तोक्ने काम गरेको छ । केही ठाउँमा ईञ्चार्ज समेत तोकिएका छन् । राष्ट्रिय सम्मेलनलाई केन्द्रमा राखेर वडा, पालिका र प्रदेश अधिवेशन गर्ने निर्णय बैठकले गरेको छ ।

पार्टी निर्वाचन समितिले निर्वाचन नियमावली र निर्देशिका तयार पार्ने काम गरेको र उक्त निर्देशिका पार्टीका तल्ला कमिटीमा पठाइने उनले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि