बैशाख १३, २०८१, बिहीबार
               

'चुनावपछि माओवादी प्रमुख पार्टी, सरकारलाई पूर्णता दिन सोमबारदेखि सघन छलफल'

नेपाल फ्ल्यास
साउन ३०, २०७८

ADVERTISEMENT

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी चुनावमा आफ्नो पार्टी फेरि प्रमुख शक्ति बन्ने आधार तयार भएको दाबी गरेका छन् ।

शनिबार काठमाडौंमा शुरु भएको केन्द्रीय कमिटीको बैठकमा समसामयिक परिस्थितिबारे संक्षिप्त रिपोर्टिङ गर्ने क्रममा प्रचण्डले आगामी निर्वाचनसम्म आउँदा माओवादी देशको प्रमुख शक्ति बन्ने सम्भावना रहेको बताए ।

पछिल्ला राजनीतिक घटनाक्रममा माओवादीले राजनीतिक पहलकदमी आफ्नो हातमा लिएको हुनाले चुनावमा प्रमुख शक्ति बन्ने राजनीतिक आधार तयार भएको प्रचण्डको विश्लेषण छ । तर, यसका लागि अब यो राजनीतिक पहललाई संगठनात्मक शक्तिका रुपमा रुपान्तरण गर्न बाँकी रहेको उनले बताए ।

प्रचण्डले भने, ‘हाम्रो अस्तव्यस्त भएको संगठन नै हो । माओवादी नेतृत्वले राजनीतिक पहल आफ्नो हातमा लिएको छ, अब यसलाई संगठनात्मक शक्तिका रुपमा रुपान्तरण गर्न जरुरी छ । माओवादी कमजोर हुँदा परिवर्तनका मुद्दाहरु उल्टिने र देश नै दुर्घटनामा पर्न सक्छ । त्यसैले परिवर्तनको रक्षा गर्ने, लोकतन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने पहल माओवादी लिनुपर्छ ।’

‘संसद विघटनविरुद्ध माओवादी केन्द्रले नै लडेको हो । गठबन्धन निर्माण गरेर केपी ओलीलाई घोडाबाट झार्ने काम माओवादी केन्द्रले नै गरेको हो भन्ने जनताले बुझेका छन् ।’ प्रचण्डले अगाडि भने, विरोधीहरु र विश्वले पनि बुझेको छ । अब यो पहललाई संगठनमा रुपान्तरण गर्नुपर्छ ।’

यसबीचमा नेतृत्वबाट कमी कमजोरीहरू पनि भएको बताउँदै प्रचण्डले संघ र प्रदेश दुबैतिर माओवादी बलियो भएको बताए । उनले भने, ‘यसबीचमा हाम्रा कमी कमजोरी पनि भए । सहिद परिवार, घाइते. र पीडितहरुलाई प्रतिक्रियावादीहरुले हाम्रो विरुद्ध प्रयोग गर्न पनिन खोजे । तर, घेरा तोड्दै हामी राजनीतिको केन्द्रमा रहन सफल भएका छौं । संघमा पनि राम्रै स्थितिमा छौं, तीनवटा प्रदेशमा हाम्रो नेतृत्वमा सरकार बन्यो ।’

तर, बलियो भएका छौं भनेर ढुक्क भएर नबस्न प्रचण्डले आफ्ना नेता कार्यकर्ताहरूलाई आग्रह गरे ।

सरकारलाई पूर्णता

प्रचण्डले सरकारलाई पूर्णता दिने विषयमा सोमबारदेखि सघन छलफल हुने बताए ।

पार्टी बैठक आइतबार सक्ने र सोमबारदेखि सरकारलाई पूर्णता दिने प्रचण्डले बताएका हुन् ।

'भोलिसम्ममा हाम्रो र कांग्रेसको बैठक सकिन्छ । बैठक सकिएपछि पर्सदेखि सरकारको सन्दर्भमा सघन ढंगले छलफल हुन्छ । परिवर्तनको यो अवस्था ल्याउन माधवकुमार नेपालले नेतृत्व गरेको एमालेको पनि महत्त्वपूर्ण भूमिका छ । अहिले उहाँहरू अफ्ठेरो स्थितिमा हुनुहुन्छु', प्रचण्डको भनाइ उदृत गर्दै नेता गिरिराजमणि पोखरेलले भने, 'यो मोर्चालाई लामै समय सँगै लैजानुपर्छ । वाम लोकतान्त्रिक अभियानलाई निरन्तरता दिनुपर्छ ।'

यो पनि