काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रीय समितिको बैठक शनिबार (आज) देखि सुरु हुने भएको छ । उक्त बैठकमा देशको पछिल्लो राजनीतिक अवस्था एवं पार्टी सङ्गठनको अवस्थाका बारेमा छलफल हुने गरी प्रस्ताव तय भएको माओवादी केन्द्रले जनाएको छ ।
नेकपा (माओवादी केन्द्र) ले गठबन्धन सरकारलाई सफल बनाउन आफ्नोतर्फबाट अधिकतम प्रयास गर्ने भएको हो । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको स्थायी समितिको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारलाई सफल बनाउने गरी परिचालित हुन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।
अध्यक्ष दाहालले वामलोकतान्त्रिक सरकारलाई सफल बनाउन पार्टीको तर्फबाट अधिकतम प्रयास गर्न पार्टीको समग्र पंक्तिलाई परिचालित हुन निर्देश गरेका छन् ।
पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार शनिबारदेखि शुरु हुने केन्द्रीय समितिको बैठकमा अध्यक्ष दाहालले राजनीतिक प्रतिवेदन एवं साङ्गठनिक प्रतिवेदन पेश गर्ने निर्णय भएको छ ।
बैठकमा वाम लोकतान्त्रिक सरकारलाई सफल बनाउने, संविधानको रक्षा र कार्यान्वयन, राष्ट्रियताको रक्षा एवं सम्वर्धनको विषयमा छलफल भएको थियो ।