बैशाख ०८, २०८१, शनिबार
               

ओलीको प्रश्न : एमसिसीबारे सरकारको साझा कार्यक्रम किन मौन ?

नेपाल फ्ल्यास
साउन २६, २०७८

ADVERTISEMENT

पूर्वप्रधानमन्त्री एवं प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले आफ्नो साझा कार्यक्रममा अमेरिकी सहयोग परियोजना एमसिसीबारे केही उल्लेख नगरेकोबारे प्रश्न उठाएका छन् ।

प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर आज मंगलबार बोल्दै उनले आफ्नो कार्यक्रममा एमसिसीबारे केही उल्लेख नगरेर सरकार जस्केलाबाट छिरेको बताए ।

उनले प्रश्न गरे- त्यसबारे जनताले यो सरकारको दृष्टिकोण बुझ्न खोजेका छन् । के हो सरकारको धारणा स्पष्ट गर्नुस् ।

उनले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूभाग भएकोले त्यो भूभाग फिर्ता ल्याइने छ भनेर किन नलेखेको भनेर प्रश्न गरेका छन् ।

ओलीले भने- तपाईँहरू नेपाली भूभाग फिर्ता ल्याउने भए ल्याउनुस् । नल्याएमा १८ महिनापछि हामी फिर्ता ल्याउँछौँ ।

छिमेकीहरूसँग भएका सीमा विवादलाई कूटनीतिक ढंगले हल गरिने भनेर साझा कार्यक्रममा भनिएको भन्दै उनले कुन कुन मुलुकसँग कहाँ कहाँ समस्या छ भनेर किटानी गर्न नसकेको आरोप लगाएका छन् ।

छिमेकीसँगका असमान सन्धि पुनरावलोकन गरिने भनेरमात्र नपुग्ने बताउँदै ओलीले कुन कुन सन्धि असमान हो भनेर किटान गर्न किन नसकेको भनी प्रश्न गरेका छन् ।

उनले समग्र परराष्ट्र मामिलामा सरकार आत्तिएको र अस्पष्ट भएको आरोप लगाएका छन् ।

उनले अहिलेको सरकारलाई स्वार्थहरूको गठजोड भएको आरोप लगाउँदै स्वार्थहरूको गठजोडबाट मुलुकले उन्नति नगर्ने दाबी पनि गरे ।

ओलीले द्वन्द्वका घाइतेहरूको जीउमा भएका गोली झिक्ने काम सरकारले गर्नुपर्ने बताउँदै त्यसो नगरे नेकपा एमालेले त्यो काम गर्ने बताए ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवप्रति लक्षित गर्दै‌ ओलीले रौतहटको गौर काण्डको छानबिन गर्न पनि चुनौती दिएका छन् । 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति लक्षित गर्दै उनले संसद्मा आफू आगो हुँ भनेको सन्दर्भ पनि उप्काएका थिए । सरकार बन्दै गरेका दिन म आगो हुँ भन्दै प्रतिपक्षलाई मसँग नखेल भनेको भन्दै त्यस्तो आगो एकदुई बाल्टी पानीले निभाउने दलिल गरेका थिए । 

उनले सरकार 'भाग शान्ति जय नेपाल'मै केन्द्रित भएको बताए । अनुशासनहीनता र अराजकताको अन्त्य गर्ने भनेको सरकारले संसदभित्रको अमर्यादालाई प्रोत्साहित गरिरहेको आरोप लगाए ।

देउवाले संसद्मा विश्वासको मत लिँदै गर्दा निवर्तमान प्रधानमन्त्री ओली संसद्मा बोलेका थिएनन् । उनले आज विशेष समय लिएर बोलेका हुन् । 


कस्तो लाग्यो ?

यो पनि