बैशाख १८, २०८१, मंगलबार
               

राजतन्त्र फर्केर आउँदैन, कुनै जालझेल नहोस् : माधव नेपाल

नेपाल फ्ल्यास
साउन १६, २०७८

ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले राजतन्त्र फेरि फर्केर नआउने बताएका छन् । राजतन्त्र ल्याउन कोसिस गर्नेहरू इतिहासको कुडाकर्कटमा फालिने नेता नेपालले बताए ।

शनिबार काठमाडौंमा आयोजित अखिल फोर्सको भेलालाई सम्बोधन गर्दै नेता नेपालले रगत र पसिना बगाएर ल्याएको संविधानलाई नकुल्चिन समेत चेतावनी दिए । पार्टी अध्यक्ष केपी शर्मा ओलीतर्फ संकेत गर्दै नेता नेपालले संविधानमाथि जालझेल नगर्न समेत भने । 

नेता नेपालले भने, ‘फेरि फर्केर प्रधानमन्त्री हुन्छु कि भनेर कसैले जालझेल नगरोस् । सबै काम पारदर्शी रुपमा हुनुपर्छ ।’

घमण्डले मान्छेलाई सिध्याउने उदाहरण दिँदै नेपालले राम्रो अनुभवबाट सिक्नुपर्ने बताए । संसद् विघटनलाई जोगाएर संविधान रक्षा गरिएको पनि उनले बताएका थिए ।

सम्बोधन गर्दै नेता नेपालले भने, 'जनता नै सच्चा हिरो हुन् । उनीहरू नै परिवर्तनका संवाहक हुन् । राजतन्त्रलाई ढालेका छन् । राजतन्त्र फेरि फर्केर आउने छैन । फेरि ल्याउने कोसिस गर्नेहरू इतिहासको कुडाकर्कटमा फालिनेछन् । देशको हितमा रगत पसिना बगाएर ल्याएको संविधान हो । कसैले कुल्चिने प्रयास गर्छ भने त्यसलाई स्वीकार गरिने छैन ।'

प्रधानमन्त्रीलाई सुझाव

नेता नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई कोरोना विरुद्धको खोप ल्याउने घोषणामा मात्रै नरमाउन सुझाव दिए । 

उनले भने, ‘खोप प्राथमिकता राखेको छ भन्नुभएको छ तर, नेताहरूको बानी ठूला कुरा गर्ने तर पूरा गर्ने गरी बिग्रिएको छ । तपाईंले त्यस्तो काम नगर्नुहोस् ।’  

उनले अखिलका विद्यार्थीहरूलाई कोरोना भाइरससँग खेलाँची नगर्न पनि सुझाव दिए । 

अखिल फोर्सलाई नाम फेर्न सुझाव

अनेरास्ववियूले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले अखिल फोर्सको नाम फेर्न सुझाव पनि दिए । 

‘अखिल फोर्स भन्ने बित्तिकै मुड्की हान्ने हो कि भन्ने पनि मानिसहरूमा परेको छ । त्यसो हुँदा यसको नाम अखिल भोलेन्टियर्स भन्न पनि सकिन्छ,’ नेपालले भने, ‘कसैले फोर्स नाम राख्यो भन्दैमा त्यही राख्नुपर्छ भन्ने पनि छैन तर, कोहीसँग तर्सेर भाग्ने कुरा पनि हुँदैन ।’

महाकालीमा भएको अमानवीय घटनाको सम्बन्धमा...

त्यसैगरी नेता नेपालले महाकाली नदीमा भएको अमानवीय घटनाको सम्बन्धमा नेपाल र भारत दुवै सरकारले छानबिन गर्नुपर्ने माग समेत गरे ।

बदमासीले होस्, लापरबाहीले होस् वा जुनसुकै कारणले, एक जना नेपाली युवा बाढीमा बेपत्ता भएको घटना सार्वजनिक भएको छ', नेपालले भने, 'भारत सरकारको ध्यानाकर्षण गर्न चाहन्छु । नेपाल सरकारको पनि ध्यानाकर्षण गराउन चाहन्छु ।'

यो पनि