कात्तिक २६, २०८१, सोमबार
               

कांग्रेस महाधिवेशन सर्ने खतरा ! नेताले मागे पाँच दिनको समय

नेपाल फ्ल्यास
साउन १४, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसको सदस्यतासम्बन्धी विवाद टुंगो लाग्न नसकेपछि आगामी भदौ १६ मा हुने भनिएको महाधिवेशन सर्छ कि तोकिएकै मितिमा हुन्छ ? भन्ने चासोको विषय बनेको छ ।

विहीबार बूढानीलकण्ठमा बसेको पूर्व पदाधिकारीसहितको बैठकको निर्णय हेर्दा महाधिवेशन सर्ने, नसर्नेबारे अबको पाँच दिनमा टुंगो लाग्ने देखिएको छ ।

क्रियाशील सदस्यता छानविनका लागि रमेश लेखकको संयोजकत्वमा गठित समितिले केही विवाद समाधान गर्न नसकी मंगलबार केन्द्रीय कार्यसमितिलाई अपूर्ण प्रतिवेदन बुझाएको थियो ।

तर, केन्द्रले एक दिनको म्याद दिएर बुधबार उक्त प्रतिवेदन समितिमै फिर्ता पठाएको थियो ।

विहीबार पुनः छानविन समितिले हामी विवाद समाधान गर्न सक्दैनौं भन्दै सो प्रतिवेदन केन्द्रलाई फिर्ता गरिदिएको छ ।  अब केन्द्रीय नेताहरुले पाँच दिनमा विवाद समाधान गर्ने बताएको समितिका सभापति रमेश लेखकको भनाइ छ ।

अबको पाँच दिनमा केन्द्रीय नेताहरुले सदस्यता सम्बन्धी विवाद टुंगो लगाएको खण्डमा तोकिएको समयमा महाधिवेशन गर्न समस्या नहुने नेता लेखकले बताए ।

लेखकले भने, ‘पाँच दिनमा नेताहरुले गर्ने भन्नुभयो । अब पाँच दिनभित्रै यी सबै विषयहरु टुङ्ग्याउनुभयो भने त अरु धेरै समस्याहरु रहँदैनन् ।’

तर, केन्द्रीय नेताहरुले पाँच दिनमा पनि विवाद समाधान नगरे भदौ १६ मा गर्ने भनिएको महाधिवेशन सर्ने खतरा रहेको नेताहरु बताउँछन् ।

‘नेताहरूकै परामर्शमा बनाइएको मापदण्डलाई आधार बनाएर हामीले प्रतिवेदन बुझाइसकेका छौं । समितिमा सहमति नभएको विषय केन्द्रीय नेताको तहमा टुंगो लाग्ने भन्ने थियो । नेताहरूको तहमा निर्णय गर्नुपर्ने विषय हामीले पहिचान गरिसकेका छौं’, लेखकले पत्रकारसँग भने, ‘केन्द्रबाट निर्णय भइसकेपछि निर्वाचनको प्रक्रिया अघि बढ्छ । तोकिएको समयमै महाधिवेशन हुन्छ ।’

अरु पार्टीबाट समायोजनामा आएका र केही जिल्ला तथा निर्वाचन क्षेत्रमा देखिएका समस्या समाधान गर्न बाँकी रहेकोले त्यो नेताहरूले अध्ययन गरे टुंग्याउने नेता लेखकले जानकारी दिए ।

उनले भने, ‘खासगरि धनुषा ४, सर्लाही २ साथै बारा र सप्तरीमा देखिएको समस्या टुंग्याउनुपर्नेछ ।’

यो पनि