
काठमाडौं । राष्ट्रिय प्रजातन्त्री पार्टीले राजा र हिन्दुवादीहरूसँग वार्ता थालेको छ ।
राप्रपाले दुई साताअघि वरिष्ठ नेता बुद्धिमान तामाङको नेतृत्वमा वार्ता समिति गठन गरेको थियो । सो समितिले वार्ता लागेको हो ।
त्यसक्रममा राप्रपाले पहिलो वार्ता गरेको छ । राप्रपाको तर्फबाट वार्ता समितिका प्रमुख तामाङ र सदस्य ऋषिबाबु परियारले जनता पार्टीसँग संवाद गरेको हो ।
वार्तामा जनता पार्टीबाट अध्यक्ष त्रिभुवननाथ पाठक, डा. उमेश खनाल, कृष्णप्रसाद लुइँटेल, महावीरप्रसाद मल्ली र रजनी मल्ली सहभागी भएका थिए ।
राप्रपाले छरिएर रहेको राष्ट्रवादी शक्तिलाई एकजुट गर्ने जनाएको छ । त्यसक्रममा समान विचार भएका राजनीतिक पार्टी, धार्मिक एवं सामाजिक संघ-संस्थादेखि समूह र व्यक्तिहरूसँग वार्ता गर्ने उसले जनाएको छ ।
अधिकतमलाई पार्टीमै समाहित गराएर एकीकृत भएर अघि बढ्ने प्रयास भइरहेको नेता तामाङले जानकारी दिए । कतिपय पार्टी वा समूहसँग सहकार्य हुन सक्ने संकेत पनि उनले गरे । समितिले वार्तालाई निरन्तरता दिने उनले बताए ।