जेठ ०६, २०८१, आइतबार
               

माधव नेपाललाई दोस्रो अध्यक्ष दिन तयार छु : ओली

नेपाल फ्ल्यास
साउन ०६, २०७८

ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव कुमार नेपाललाई दोस्रो अध्यक्ष दिन आफू तयार रहेको बताएका छन् । 

बुधबार ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठान भवनमा जारी केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष ओलीले पार्टीलाई एकताबद्ध बनाउन नेता नेपाललाई दोस्रो अध्यक्ष दिन आफू तयार रहेको बताएका हुन् ।

‘माधव नेपालले मिल्ने हो भने भने दोस्रो अध्यक्ष दिनुस् भनेँ । मैले भनेको छु, पार्टी एकता बचाउन माधव नेपाल आउँछन् भने दोस्रो अध्यक्ष दिन तयार छु,’ ओलीले भने । तर, आफूले दोस्रो अध्यक्ष दिन्छु भन्दा पनि नेता नेपालले एकताप्रति इच्छा नदेखाएको उनले बताए ।

‘मैले दोस्रो अध्यक्ष दिन्छुभन्दा पनि एकताप्रति इच्छा देखाइएको छैन, अनेक बहाना खोजिएको छ । त्यसपछि पनि केन्द्रीय कमिटीमा बहुमत चाहियो भनिरहेका छन् । किन ? हामीलाई पार्टीबाट निकाल्न ?,’ ओलीले भने, ‘ढुक्क हुनुस् त्यसो हुन दिइने छैन । किनकि, यस्तो अभ्यास उनीहरूले पहिले पनि गरेका छन् ।’

अध्यक्ष ओलीले आफू एकताका लागि हदैसम्म लचिलो भएको पनि बताए । ‘हामी एकताका लागि हदैसम्म लचिलो छौँ ।अन्तिमसम्ममा पनि एकताका लागि प्रयास जारी छ,’ उनले भने, ‘१० बुँदे सहमति कार्यान्वयन गर्न म प्रतिबद्ध छु । एकता भएमा सबै संरचनाहरू ०७५ जेठ २ कै अवस्थाबाट क्रियाशील हुनेछन् ।’

अध्यक्ष ओलीले संसदमा आफ्नै पार्टीको सरकार विरुद्ध मत हालेर अनैतिक, अराजनीतिक र आपराधिक काम नेपालले गरेको पनि बताए । ‘संसदमा आफ्नै पार्टीको सरकारविरुद्धमा मत हालियो । यो अनैतिक, अराजनीतिक र आपराधिक कार्य हो । तर, पनि मैले फिँजमा भए पनि केही घिउ लागिहाल्छ कि भनेर मही मथेको मथ्यै छु । म थाकेको छैन,’ ओलीले भने । 

उनले आफूले पार्टी एकताका लागि कुनै कञ्जुस्याइँ नगरेको पनि बातए । ‘मैले एकताका लागि कुनै कञ्जुस्याइँ गरेको छैन र गर्दिनँ पनि,’ उनले भने । अध्यक्ष ओलीले पार्टी एकताका लागि अन्तिम समयसम्म प्रयास जारी राख्ने पनि बताए ।

‘पार्र्टी एकताका लागि अन्तिम समयसम्म प्रयास जारी राखिन्छ,’ ओलीले भने, ‘तर पार्टी आन्दोलनलाई घात गर्ने कुनै पनि खालका हर्कतलाई भने सफल हुन दिइने छैन ।’

यो पनि