नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्न बालुवाटार पुगेका छन् ।
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँगको भेटपछि उनी देउवालाई भेट्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन् ।
प्रधानमन्त्री देउवासँगको छलफलमा मन्त्रिपरिषद् विस्तारका बारेमा छलफल हुने बताइएको छ ।
अहिले देउवा मन्त्रिमण्डलमा नेपाली कांग्रेसबाट उनीसहित तीन र माओवादीबाट दुई जना मन्त्री रहेका छन् । आइतबार विश्वासको मत लिएसँगै देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।
अध्यक्ष प्रचण्डले यसअघि बिहान एमालेका वरिष्ठ नेता नेपालसँग कोटेश्वरमा भेटवार्ता गरेका थिए ।
प्रचण्डसँगको छलफलपछि नेता नेपालले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवसँग पनि छलफल गरेका थिए ।
माओवादी अध्यक्ष प्रचण्ड, जसपा अध्यक्ष यादव र नेता नेपालबीच भएको छुट्टाछुट्टै छलफलमा मन्त्रिपरिषद् विस्तारका बारेमा छलफल भएको बताइएको छ ।