जेठ ०९, २०८१, बुधबार
               

यस्तो छ देउवाको राजनीतिक यात्रा

नेपाल फ्ल्यास
असार २९, २०७८

ADVERTISEMENT

नेपाली कांग्रेसका सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवा पाँचौँ पटक प्रधानमन्त्री नियुक्त भएका छन् ।सुदूरपश्चिमको डडेलधुरा जिल्लामा २००३ सालमा जन्मिएका उनले विद्यार्थी जीवनबाटै राजनीति सुरु गरेका थिए । २०२२ सालमा सुदूरपश्चिमाञ्चल विद्यार्थी सङ्घबाट  उनले राजनीतिक यात्रा सुरु गरेका हुन्।

आफ्नो राजनीतिक जीवनमा आलोचकबाट 'प्रजातन्त्र दरबारलाई लगेर बुझाएको' भन्ने आरोप खेपेका देउवालाई पहिलेका कार्यकालका आधारमा कैयौँले 'काबिल' प्रधानमन्त्रीको रूपमा लिँदैनन्। यद्यपि देउवाका प्रशंसकहरू उनलाई 'पार्टी र गठबन्धनलाई समेत व्यवस्थापन गर्न सफल' व्यक्तिका रूपमा चित्रण गर्छन्। कैयौँ कांग्रेसीहरूका भनाइमा देउवा कतिपय परिस्थितिमा 'कूटनीतिकभन्दा पनि बढी स्पष्ट वक्ता' देखिन्छन्।

२०४८, २०५१, २०५६ र २०७४ सालका संसदीय निर्वाचनमा डडेल्धुराबाट निर्वाचित उनी २०६४ र २०७० सालमा भएको संविधानसभाको निर्वाचनमा डडेल्धुराका साथै कञ्चनपुर र कैलालीबाट समेत विजयी भएका थिए। २०४८ सालमा गृहमन्त्री बनेका देउवाले त्यसपछि पटकपटक गरी चारपटकसम्म प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन्। उनी पहिलोपटक २०५२ भदौ २६ देखि २०५३ फागुन २६ गतेसम्म प्रधानमन्त्री भएका थिए। त्यसपछि उनी २०५८ साल साउन ७ गतेदेखि २०५९ असोज १८ गतेसम्म दोस्रोपटक प्रधानमन्त्री भएका थिए। 

सोही वर्ष असोज १८ मा उनलाई तत्कालीन राजा ज्ञानेन्द्रले पदबाट बर्खास्त गरेका थिए। प्रधानमन्त्री देउवा २०६१ साल जेठ २१ गते तेस्रोपटक प्रधानमन्त्री बने पनि राजा ज्ञानेन्द्रले प्रधानमन्त्री देउवालाई ‘असक्षम’ भन्दै २०६१ साल माघ १९ गते पुनः पदबाट बर्खास्त गरेका थिए।

गिरिजाप्रसाद कोइरालासँगको अन्तर्द्वन्द्वका कारण उनले २०५९ सालमा नेपाली कांग्रेससलाई फुटाएर नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गरेर त्यसको सभापति भएका थिए। २०६२/६३ सालको जनआन्दोलनपछि २०६४ सालमा देउवाको उक्त पार्टी पुनः नेपाली कांग्रेसमा एकीकृत भयो। 

२०७२ साल फागुनमा भएको १३ पार्टी महाधिवेशनबाट नेपाली कांग्रेसको सभापति चुनिएका देउवाले त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर तथा कानुनमा स्नातक गरेका छन्। 


कस्तो लाग्यो ?

यो पनि