जेठ ०५, २०८१, शनिबार
               

संसद छलेर ल्याइएको भन्दै कांग्रेसद्वारा अध्यादेश अस्वीकारको सूचना पेस

नेपाल फ्ल्यास
असार १८, २०७८

ADVERTISEMENT

काठमाडौं । सरकारले राष्ट्रियसभा बैठकमा पेस गरेका अध्यादेश अस्वीकारको सूचना प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पेस गरेको छ ।

कांग्रेसले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन), शपथ सम्बन्धी, नेपाल नागरिकता (पहिलो संशोधन), नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन), सामाजिक सुरक्षा (पहिलो संशोधन), आर्थिक, विनियोजन, रेल्वे अध्यादेश, बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश सम्बन्धमा अस्वीकारका लागि सूचना पेस गरेको हो ।

राष्ट्रियसभाको बिहीबारदेखि सुरु भएको आठौँ अधिवेशनको पहिलो बैठकमा सरकारले विभिन्न १६ अध्यादेश पेस गरेको थियो ।

सो पार्टीले अध्यादेशहरू संविधानको मर्म र भावना विपरीत, शक्ति पृथकीकरणको सिद्धान्त विपरीत, संसदीय मान्यता र भावना विपरीत रहेका, संसद् छलेर ल्याइएका, असमसामयिक एवं असान्दर्भिक रहेका, सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत कामकारबाही रोकेको विषयका भएकाले हुने भन्दै अस्वीकारका लागि सूचना पेस गरेको जनाएको छ ।

साथै कर निर्धारणलगायत आर्थिकसम्बन्धी विषय र विनियोजनसम्बन्धी विषय जनप्रतिनिधिको थलो संसद्मा छलफल गरेर अघि बढाउनुपर्नेमा प्रतिनिधिसभा विघटन गरी ल्याइएको अध्यादेश भएकाले तथा कतिपय विधेयकहरू संसद्मा विचाराधीन हुँदाहुँदै अध्यादेशमार्फत ल्याउँदा संसदीय अभ्यास र मर्यादा विपरीत भएको कांग्रेसको तर्क छ ।

सांसदहरू राधेश्याम अधिकारी, अनिता देवकोटा, प्रकाश पन्थ र खिमलाल देवकोटाले आज सङ्घीय संसद् सचिवालयमा अध्यादेश अस्वीकार गर्ने सूचना पेस गरेका हुन् ।


कस्तो लाग्यो ?

यो पनि