जेठ ०६, २०८१, आइतबार
               

सर्वोच्चको आदेशसँगै पदमुक्त हुनबाट बचे दुई नगरप्रमुख

नेपाल फ्ल्यास
असार १५, २०७८

ADVERTISEMENT

काठमाडौं । सर्वोच्च अदालतले मौलापुर नगरपालिका प्रमुख रिनाकुमारी साह र कटहरिया नगरपालिकाका प्रमुख सियाराम कुशवाहलाई पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश डा. कुमार चुँडालको एकल इजलासले आज साह र कुशवाहलाई कारबाही गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

“प्रस्तुत विवाद कानुनको गम्भीर व्याख्या निहित रहेको, निवेदकहरूले राजीनामा नदिएको, अर्को दलको सदस्यता नलिएको एवं निजसमेत संलग्न भई अर्को दल गठन गरेको यकिन देखिएन”, आदेशमा भनिएको छ, “निर्वाचन आयोगको सूचनालगायतका कामकारबाही पत्राचारसमेत रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म कार्यान्वयन नगर्नु/नगराउनु ।”

आदेशमा नेकपा (माओवादी केन्द्र) छाडेर अर्को दलमा प्रवेश गरेको र राजीनामा दिएको यकिन नभएको अवस्थामा आयोगको निर्णय कार्यान्वयन नगर्न भनिएको छ ।

प्रत्यक्ष जननिर्वाचित स्थानीय कार्यपालिकाको प्रमुखहरू भएकाले उनीहरूले सम्पादन गर्नुपर्ने स्थानीय तहसम्बन्धी कामकारबाही एवं अधिकारमा अपूरणीय क्षति पुग्ने भएकाले आयोगलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न समेत आदेशमा भनिएको छ ।

नेपालको संविधानले संघीय संसद्का सदस्य एवम् प्रदेश सभाका सदस्यको दल त्याग सम्बन्धी व्यवस्था र स्थानीय कार्यपालिकाका नगरप्रमुखलगायतको दल त्याग सम्बन्धी व्यवस्था नै नितान्त भिन्न आधार र अवस्थाबाट गरेको देखिएको आदेशमा उल्लेख छ ।

माओवादी केन्द्रले गत वैशाख १४ गते निर्वाचन आयोगमा नगरप्रमुखहरू साह र कुशवाहसहित विभिन्न जिल्लाका १४ जना स्थानीय जनप्रतिनिधिले दल त्याग गरेर एमालेमा प्रवेश गरेको भन्दै पदमुक्त गर्न निर्वाचन आयोगलाई पत्र पठाएको थियो ।

सो पार्टीको पत्रका आधारमा आयोगले असार ११ गते उहाँहरूलाई पदमुक्त भएको सूचना सार्वजनिक गरेको थियो । सोही विषयलाई लिएर नगरप्रमुखद्वयले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । त्यसको प्रारम्भिक सुनुवाइले नगरप्रमुखद्वयलाई तत्काल नहटाउन आदेश जारी गरेको हो ।


कस्तो लाग्यो ?

यो पनि