मंसिर ०७, २०८१, शुक्रबार
               

कोरोना महामारी बीचमै कांग्रेस महाधिवेशन सरगर्मी, सभापतिमा आकांक्षीको लाइन

नेपाल फ्ल्यास
असार १२, २०७८

ADVERTISEMENT

नोपली कांग्रेस १४औँ महाधिवेशन मिति तोकिएपछि नेतृत्वका लागि दाबेदार आउन थालेका छन् । १६ देखि १९ भदौसम्म केन्द्रीय महाधिवेशन गर्ने कांग्रेसले कार्यतालिका बनाएपछि दोस्रो तहका नेताहरूले समेत सभापतिमा दाबी गरेका छन् । पहिलो पुस्ताका शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसँगै दोस्रो तहका नेताहरू विमलेन्द्र निधि, डा. शशाङ्क कोइराला, प्रकाशमान सिंह, गोपालमान श्रेष्ठ र डा. शेखर कोइरालालगायतले सभापतिमा दाबी गरेका छन् । उनीहरूले कोभिड– १९ को जोखिमकै बीच महाधिवेशनलक्षित भेटघाट, संवाद र छलफल अघि बढाएका छन्  ।

एकै जना दुईपटक सभापति बन्न पाउने पार्टीको विधानबमोजिम वर्तमान सभापति देउवा फेरि सभापति बन्न चाहेका छन् । सभापति देउवाले पुन: सभापति बन्ने इच्छा व्यक्त गरिसकेका छन् । आफू पुनः सभापतिको उम्मेदवार बन्ने उनले स्पष्ट पारिसकेका छन् । यस आधारमा उनी स्वाभाविक र बलियो दाबेदार मानिन्छ । ०५९ मा काँग्रेस विभाजन हुँदा उनी नेपाली काँग्रेस प्रजातान्त्रिकको सभापति थिए । पछि ०६४ मा पार्टी एकतापछि १२औँ महाधिवेशनमा सुशील कोइरालासँग पराजित भए । १३औँ महाधिवेशनमा सभापतिमा उनले वरिष्ठ नेता रामचन्द्र पौडेललाई पराजित गर्दै सभापति बनेका हुन् ।

यता पार्टीभित्र प्रतिपक्षीको नेतृत्व गरिरहेका वरिष्ठ नेता पौडेल पनि १४औँ महाधिवेशनबाट सभापतिको दाबी गरिरहेका छन्  । पार्टीभित्र नेतृत्व पुस्तान्तरणको बहस चलिरहँदा पौडेलले एकपटक आफूलाई मौका दिनुपर्ने बताइरहेका छन् ।

यता, अघिल्लो महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिएका तेस्रो गुटका नेता मानिने कृष्णप्रसाद सिटौलाले भने उम्मेदवारीबारे बोलेका छैनन् । तर, उनी भित्रभित्रै भने तयारी अवस्थामा छन् ।

यता पार्टी विभाजन हुँदासमेत सभापति देउवाको साथ नछाडेका विमलेन्द्र निधिले देउवालाई सहजरूपमा आफूलाई नेतृत्व हस्तान्तरण गर्न आग्रह गरेका छन् । सभापतिको उम्मेदवार बन्ने भन्दै उनले कोइराला परिवार र प्रकाशमान सिंहलगायतको साथ मागेका छन् । अहिले उपसभापति रहेका निधि कांग्रेसका संस्थापक नेता महेन्द्रनारायण निधिका छोरा हुन्  । १२औँ महाधिवेशनमा महामन्त्री पदमा प्रकाशमान सिंहसँग पराजित भएका निधिले १३औँ महाधिवेशनमा पनि महामन्त्री दाबी गरेका थिए । तर, देउवालाई सभापति जिताउन उनी केन्द्रीय सदस्य मात्रै लडे । केन्द्रीय सदस्य जितेका निधिलाई ०७५ मा सभापति देउवाले उपसभापति मनोनीत गरेका हुन् ।

कोइराला परिवारको विरासत बोकेर सभापतिको उम्मेदवार बन्ने लाइनमा दुई-दुई जना छन् । महामन्त्री डा. सशाङ्क कोइराला र केन्द्रीय सदस्य शेखर कोइरालाले सभापतिमा दाबी गरिहरेका छन् । काँग्रेस संस्थापक नेता बिपी कोइरालाका छोरा रहेका सशाङ्क उनी ११औँ महाधिवेशनबाट कांग्रेसको सक्रिय राजनीतिमा प्रवेश गरेका हुन् । १२औँमा पनि उनी केन्द्रीय सदस्यमा नै दोहोरिए । सुशील कोइरालाको निधनपछि १३औँ महाधिवेशनमा उनी महामन्त्रीमा निर्वाचित भए । संविधानमा धर्मनिरपेक्षताको व्यवस्था छ । तर, डा. कोइरालाले भने ‘धर्मसापेक्ष पनि नहुने र निरपेक्ष पनि नहुने भन्दै धर्म स्वतन्त्र’ हुनुपर्ने दाबी गर्दै आएका छन् । 

आसन्न महाधिवेशनमा सभापतिका लागि काङ्ग्रेसभित्र ‘लो प्रोफाइल’का बलियो उम्मेदवार हुन् अर्का नेता डा. शेखर कोइराला । १३औँ महाधिवेशनमा महामन्त्री दाबी गरे पनि भाइ डा. शशाङ्कका लागि छाडेर केन्द्रीय सदस्य लडेका थिए । अधिकांश नेता–कार्यकर्ताले उनलाई आगामी महाधिवेशनपछि सभापतिका रूपमा हेर्न चाहेको उनको दाबी छ । कांग्रेसको पहिलो निर्वाचित महामन्त्रीसमेत रहेका प्रकाशमान सिंह समेत सभापतिको आकाङ्क्षी छन् ।


कस्तो लाग्यो ?

यो पनि