काठमाडौं । जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्ष नयाँ पार्टी खोल्ने मनस्थितिमा पुगेको छ ।सो पार्टीका एक नेताले केन्द्रीय समितिमा बहुमत जुटाएर निर्वाचन आयोगमा दाबी गर्न नसकेपछि परिस्थिति सिर्जना भएको बताए । तर, उनले अहिले नै यही गर्ने भनी निर्णयमा पुगी भने नसकेको बताए ।
निर्वाचन आयोगले महन्थ ठाकुर पक्षलाई कार्यकारिणी समिति सदस्यको हस्ताक्षरसहितको नामावली बुझाउन दिएको समयसीमा समाप्त भइसकेको छ ।
निर्वाचन आयोगमा नामावली बुझाउनका लागि हस्ताक्षर गर्न आइतबार बबरमहलमा बैठक बोलाइएको थियो । तर, बहुमत सदस्य अनुपस्थित भएपछि बैठक स्थगित गरिएको छ ।
कार्यकारिणी समितिका ५१ जनामध्ये १९ जना मात्रै महन्थ ठाकुरको पक्षमा उभिएका छन् । बहुमतका लागि २६ जना केन्द्रीय सदस्य संख्या नपुगेपछि अब नयाँ पार्टी बनाउने तयारीका साथ अगाडि बढेको अर्को स्रोतले बताए ।
अहिले बबरमहलस्थित पार्टी कार्यालयमा त्यही विषयमा आन्तरिक छलफल चलिरहेको छ । जति जना सदस्यको हस्ताक्षर छ, त्यति जनाको नाम आयोगमा बुझाइदिने या नयाँ पार्टी दर्ताका लागि निवेदन दिने भन्ने विषयमा अहिले छलफल भइरहेको छ । यसका लागि कागजात तयारी गर्ने काम भइरहेको एक नेताले जानकारी दिए ।