बैशाख ०८, २०८१, शनिबार
               

ओलीको पालामा मन्त्री बन्न पाउने ४ भाग्यमानी दम्पती

नेपाल फ्ल्यास
जेठ २७, २०७८

ADVERTISEMENT

कम्युनिस्ट पार्टीका नेताहरू असमानता, नातावाद र कृपावादको सबैभन्दा बढी विरोध गर्दै आएको छ । तर अहिले नेताहरूको बोली र व्यवहार बिलकुल फरक हुँदै देखिन्छ । उनीहरू नै नातावादको पक्षपोषण बन्न पुगेका पुष्टि भएको छ । किनकि कम्युनिस्ट नेताहरूले आफन्तहरूलाई पद र अवसरको भरपुर उपभोग गराइरहेका छन् । जसले गर्दा आम नागरिकको प्रतिनिधि मानिने स्थल मन्त्रिपरिषद् एकाघरका सदस्यहरूकै कब्जामा छ ।

नेपालको सबैभन्दा ठुलो कम्युनिस्ट पार्टी नेकपा एमालेले पछिल्लो पटक मन्त्रिपरिषद् पुर्नगठनमा नातावाद र कृपावादलाई प्रोत्साहन गरेको देखिएको छ। जहाँ नेताका पत्नीहरूले अवसर भरपुर लुट्न पाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा रघुवीर महासेठको दम्पतीको आलोपालो ईन्ट्रीपछि फेरि अर्का नेताको दम्पतीले स्थान पाएका छ । बिहीबारको पछिल्लो मन्त्रिपरिषद् पुर्नठनमा निवर्तमान गृहमन्त्री रामबहादुर थापा बादलकी पत्नी नैनकला थापाले अवसर पाइन् । उनले महत्त्वपूर्ण मानिने सञ्चार तथा सूचना प्रविधिमन्त्री मन्त्रालयको जिम्मेवारी पाएकी छन् । गैर सांसदले मन्त्री बन्न नपाउने भन्दै सर्वोच्च अदालतको ६ जेठको आदेशअनुसार तत्कालीन बादल पदमुक्त भए र सिंहदरबारबाट बाहिरिए । उनी पदमुक्त भएर के भयो र, एक महिना नपुग्दै उनले आफ्नी पत्नीलाई सिंहदरबार छिराउन सफल भए ।

संञ्चारमन्त्री बन्ने नैनकला पहिलो महिला नेतृ हुन् । यद्यपी पती र पत्नीलाई पालैपालो मन्त्री बनाउने र एकै पटक सञ्चार तथा सूचना प्रविधि मन्त्रीजस्तो महत्त्वपूर्ण मन्त्रालय दिइएको भन्दै उनकोे क्षमतामाथि प्रश्न पनि उठेको छ ।

फागुन २३ मा नेकपा भङ्ग भएपछि पूर्वमाओवादीका तर्फबाट बादल सबभन्दा वरिष्ठ नेता हुन्, जो एमालेमा गएका हुन् । आफूलाई साथ दिएको भन्दै ओलीले उनको कोटाबाट नैनकलालाई मन्त्री बनाए । उनीभन्दा कैयौँ गुणा योगदान गरेका नेताहरू छन् । तर बादलको दबाबमा प्रधानमन्त्री ओलीले नैनकलालाई मन्त्री बनाए ।

यसअघि धनुषा–४ का सांसद महासेठलाई उपप्रधानमन्त्री सहित परराष्ट्र मन्त्रालयको महत्त्वपूर्ण जिम्मेवारी दिइएको थियो । महासेठ विष्णुप्रसाद पौडेलपछिको वरीयतामा उपप्रधानमन्त्री छन् । एमालेभित्र वामदेव गौतम निकट भनेर चिनिने महासेठ गुट फेर्दै २०७४ मा मन्त्री बनेका थिए । तर कार्यसम्पादन चित्त नबुझेको भन्दै प्रधानमन्त्री ओलीले पदमुक्त गरेका थिए ।

त्यसपछि महासेठकी पत्नी जुली महतोलाई ओलीले मन्त्री बनाए । एमालेका समानुपातिक सांसद महतोले महिला, बालबालिका तथा समाज कल्याण मन्त्रीको जिम्मेवारी पाएकी थिइन् । तर अहिले पती रघुवीर मन्त्री भएपछि जुली पाँच महिनापछि पदमुक्त भएकी छन् । एमालेको नवौँ महाधिवेशनमा ओलीको प्यानलबाट सचिव लडेका महासेठ केन्द्रीय सदस्यमा समेत पराजित भएका अलोकप्रिय नेता हुन् ।

प्रधानमन्त्री ओलीलाई साथ दिए बापत दम्पतीले नै मन्त्री पाउनेमा बादल, नैनकला महासेठ र महतो मात्रै होइनन् । माधव नेपालको गुट छोडे बापत शेरबहादुर तामाङ र उषाकला राईले पनि मन्त्री पद पाएका छन् । अपघल्लो पटक मन्त्रिपरिषद् विस्तारमा शेरबहादुर तामाङले स्वास्थमन्त्रीको जिम्मेवारी पाएका छन् । उनी यसअघि कानुनमन्त्री थिए । तर विवादास्पद अभिव्यक्तिका कारण ७ महिनामै राजीनामा दिन बाध्य हुनु परेको  थियो । नेकपा विभाजित हुँदा गुट फेरेर ओलीतिर लागेपछि तामाङ अहिले स्वास्थ्य मन्त्री बनेका हुन् । प्रदेश–१ मा गएको चैतमा मात्रै उषाकला राई सामाजिक विकास मन्त्री बनिसकेकी छन् । तामाङ सिन्धुपाल्चोक–२ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् भने राई प्रदेश १ मा समानुपातिक सांसद छन् ।

यस्तै जसपाका नेता अनिल झाको पतिपत्नी पनि आलोपालो मन्त्री खाने भाग्यमानी दम्पती हुन् । अनिल झा लाई ओलीले खानेपानी मन्त्री बनाए । प्रदेश २ की भौतिक पूर्वाधार राज्यमन्त्री डिम्पल झा भने लगतै पदबाट मुक्त भइन् । जसपाको महन्थ ठाकुरले सहमति विपरीत १० जनालाई सङ्घीय सरकारमा मन्त्री बनाएपछि उपेन्द्र यादव पक्षले प्रदेश सरकारबाट ठाकुर पक्षलाई हटाउने क्रममा झा पनि मन्त्रिपरिषदबाट बाहिरिएकी हुन् ।


कस्तो लाग्यो ?

यो पनि