बैशाख २४, २०८१, सोमबार
               

चुरे दोहनलाई मार्गप्रशस्त गर्नु प्रकृतिविरुद्धको अपराध : देउवा

नेपाल फ्ल्यास
जेठ १९, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले बजेट वक्तव्यमार्फत चुरे दोहनलाई मार्गप्रशस्त गर्न लिएको नीतिलाई आफ्नो पार्टीले गम्भीर रूपमा लिएको जनाएका छन् ।

सभापति देउवाले आज एक वक्तव्यमार्फत विगतमा चुरे क्षेत्रबाट ढुङ्गा, गिटी, बालुवा उत्खनन् गरिँदा त्यसले पानीका स्रोतहरू सुक्न थालेको, भू–क्षय बढेको र समग्रमा पर्यावरणलाई गम्भीर असर परेको अध्ययन विश्लेषण गरिएको उल्लेख गरेका छन्।

उनले विगतका गल्ती सच्याएर अघि बढ्न निश्चित गरिएको नीतिलाई विस्थापित गरेर पुनः दोहनलाई प्रोत्साहन गर्नु सामान्य गल्ती मात्र नभई प्रकृतिविरुद्धको अपराध र तराई–मधेसलाई भविष्यमा मरुभूमीकरण गर्ने गम्भीर षड्यन्त्र भनेका छन् ।

कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको नेतृत्वको सरकारले ‘राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समिति’ गठन गरेर चुरे क्षेत्रको दोहन रोक्न र चुरे संरक्षण गर्न विकास समितिमार्फत विभिन्न मापदण्ड निर्धारण गरेको थियो । सो सरकारले ढुङ्गा, गिटी, बालुवा उत्खनन् र निकासीमा रोक समेत लगाएको थियो ।

सभापति देउवाले भनेका छन्, “सो नीति र निर्णयलाई विस्थापित गर्दै ‘व्यापार घाटा न्यूनीकरण गर्ने’ नाममा ढुङ्गा, गिटी, बालुवा निकासीको कार्यक्रम ल्याउनु ‘खरानीको व्यापार गर्न घर जलाए जस्तो’ मात्रै हो ।”

मुलुकले बर्षौदेखि व्यापार घाटा बेहोरिरहेको तर त्यसलाई न्यून गर्न या सन्तुलनमा ल्याउन तराई–मधेस र समग्र देशलाई नै दीर्घकालीन असर पर्ने कदम चाल्नु किमार्थ स्वीकार्य हुन नसक्ने र त्यो नै उचित विकल्प नभएको उनले जनाएका छन् ।

यो पनि