जेठ ०६, २०८१, आइतबार
               

झण्डै आधा मन्त्रालय लिएर सरकारमा जाने तयारीमा जसपा

नेपाल फ्ल्यास
जेठ १७, २०७८

ADVERTISEMENT

जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर समूह छिटै सरकारमा सहभागी हुने भएको छ । सम्मानजनक स्थानका साथै केही शक्तिशाली मन्त्रालय पाउने गरी सहभागी हुने जनाइएको छ। सरकारमा सहभागी हुने र अन्य विषयमा सोमवार प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेको जसपाको ठाकुर समूहले सकभर यसै हप्ताभित्र सहभागी हुने जानकारी दिएको छ । जसपालाई सरकारमा ८ वटा मन्त्रालय दिने सहमति जुटेको बताइन्छ । ८ वटा मन्त्रालय र २ राज्यमन्त्री लिएर सरकारमा जाने तयारी भएको बताइएको छ । 

अध्यक्ष महन्थ ठाकुर, नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्णसहितका नेताहरूले प्रधानमन्त्रीसँग जसपाले उठाएका माग र सरकारमा सहभागी हुनेबारे छलफल गरेका थिए । पूरा हुन बाँकी माग छिटै सम्बोधन भएमा आफूहरूलाई सरकारमा जान कुनै आपत्ति नरहेको आफूहरूले बताएको नेता लक्ष्मणलाल कर्णले  जानकारी दिए ।

उनले भने ‘मधेश आन्दोलनका क्रममा जेलमा रहेकाहरूलाई छुटाउने, उनीहरूलाई राहत र क्षतिपूर्ति, संविधान संशोधनलगायतका मुद्दामा हामीहरू केन्द्रित छौं, सबै माग पुरा भएमा सरकारमा जान पनि सक्ने बारेमा हामिले बताएका छौं ।’

पार्टीलेअघि सारेका माग र मुद्दा सम्बोधन भएकोले ओली सरकारमा सहभागी हुने ठाकुरनिकट अर्का केन्द्रीय कार्यकारिणी समिति सदस्य शरतसिंह भण्डारीले बताउँछन् । उनले भने ‘सरकारमा जाने कुरा निश्चित हो, एक/दुई दिन लाग्न सक्छ।’

८ वटा मन्त्रालय र २ राज्यमन्त्री लिएर सरकारमा जाने तयारी भएको जसपामा आकांक्षी धेरै छन् । जसकारण निर्णय गर्न कठिन छ । उपेन्द्र यादव पक्षबाट ठाकुर समूहतर्फ लागेकाहरूलवाई पनि मन्त्री बनाउनुपर्ने छ । नभए उनीहरू फेरि यादव समूहमै लाग्नेछन् । विमल श्रीवास्तव, उमाशंकर अरगरिया, रुही नाज, कलुदेवी विश्वकर्मा र रेनुका गुरुङ यादव समूबाट आएका हुन् ।

ठाकुरनिकट स्रोतका अनुसार विघटित संसदको सदस्य नरहेका उमाकान्त झा, सर्वेन्द्रनाथ शुक्ला, अकवाल अहमद साह, वृषेशचन्द्र लालले पनि मन्त्री बनाउन लबिङ गरेका छन् । राजेन्द्र महतो, चन्दा चौधरी, अनील झा, राजकिशोर यादव, प्रमोद साह, चन्द्रकान्त चौधरी, शरतसिंह भण्डारी र अकवाल मियाँको पनि मन्त्रीमा दाबी छ। 

जसपाको संसदीय दलमा ठाकुर–महतो पक्षको बहुमत छ । उनीहरूको पक्षमा २० सांसद छन् । ठाकुर पक्ष ओली सरकारमा सहभागी भए जसपा औपचारिक रुपमा विभाजन हुनेछ ।


कस्तो लाग्यो ?

यो पनि