मंसिर ०१, २०८१, शनिबार
               

सुनुवाइ सुरु हुँदै गर्दा चार पूर्वप्रधानन्यायाधीशको विज्ञप्ति, भने- विघटन सर्वोच्चको फैसला विपरीत

नेपाल फ्ल्यास
जेठ १४, २०७८

ADVERTISEMENT

काठमाडौं । चारजना पूर्वप्रधानन्यायाधीशहरूले प्रतिनिधिसभा पुनः विघटन गरिनुलाई सर्वोच्च अदालतको यसअघिको फैसलाविपरीतको भएको जनाएका छन्का ।

संवैधानिक इजलासमा सुनुवाइ सुरु भइरहँदा पूर्वप्रधानन्यायाधीहरूले संयुक्त विज्ञप्ति प्रकाशित गरी विघटनबाट कानुनको सर्वोच्चताको सिद्धान्त नमान्ने र कानुन प्रभावहीन हुने स्थिति खडा भएको बताएका छन् । उनीहरूले सर्वोच्चको अघिल्लो फैसलाले दिएको परिणाम कसैको स्वार्थको खातिर निरर्थक तुल्याएको टिप्पणी गरेका छन् ।

उनीहरूले विघटन लोकतन्त्रको लागि खतरनाक हुनसक्ने जनाएका छन् । प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि पदमुक्त हुने संवैधानिक प्रावधान भए पनि पदमा रहिरहने परिस्थिति तर्जुमा गर्ने कोसिस प्रधानमन्त्रीबाट भएको आरोप पनि उनीहरूले लगाएका छन् ।

विज्ञप्तिमा विश्वासको मत प्राप्त गरेको वैध सरकारको जस्तो सबै भूमिका खेलिरहन खोज्नु संविधान, प्रजातन्त्र र विवेक कुनै कुराले पनि नदिने टिप्पणी गरेका छन् ।

विज्ञप्ति जारी गर्ने पूर्वप्रधानन्यायाधीशमा मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की छन् ।

हेर्नुस् विज्ञप्तिको पूर्ण पाठ

पूर्वप्रधानन्यायाधीहरूको समूह

प्रेस विज्ञप्ति:

नेपालको संविधान २०७२ जारी भएपछि संसद् दिगो भई राजनीतिक स्थायित्व आउने, संसद्कै विधायिकी प्रक्रियाबाट ऐनहरू बन्ने र देशको आवश्यकता र आकांक्षा प्रतिबिम्बित हुने बजेट निर्माण गरी संसदबाटै व्यापक छलफल भई पारित गरी जनताको आकांक्षा अनुसार शान्ति, समृद्धि र न्याय स्थापित हुने अपेक्षा गरिएको थियो। सो बमोजिम सम्पन्न प्रथम संसदीय निर्वाचनबाट जनताले सत्तारुढ दललाई स्पष्ट बहुमत दिएको पनि हो।

तर हाल आएर त्यसरी प्राप्त जनमतको विश्वास कायम राख्न नसकी संविधानको धारा ७६(७) बमोजिम प्रतिनिधिसभा विघटन गर्ने २०७७/९/५ को सिफारिस कार्यान्वयन भएकोले सो कार्य असंवैधानिक ठहर भई सम्मानित सर्वोच्च अदालतबाट मिति २०७७/११/११ मा प्रतिनिधिसभा पुनर्स्थापित हुने निर्णय कार्यान्वयन भइसकेको कुरा सर्वविदितै छ।

सम्मानित अदालतबाट संविधानको धारा ७६ को अधीनमा रही प्रतिनिधिसभाबाट सरकार गठन हुन सक्ने सम्भावना रहेसम्म प्रतिनिधिसभा विघटन गर्न नमिल्ने सिद्धान्त स्पष्ट रूपमा प्रतिपादन भइसकेको छ । सर्वोच्च अदालतको उक्त निर्णय पश्चात् प्रधानमन्त्रीले विश्वासको मतको प्रस्ताव राख्नु भएकोमा सो प्राप्त गर्न प्रधानमन्त्री असफल भएपछि संविधान बमोजिम पदमुक्त हुने भएको कुरा सर्वविदितै छ। संसदीय प्रजातन्त्रमा जनताको प्रतिनिधि संस्था प्रतिनिधि सभाको विश्वास नदेखाई वा त्यस्तो विश्वास कायम नराखी प्रधानमन्त्रीमा नियुक्त हुन वा बहाल रहिरहन नसक्ने कुरा सामान्य ज्ञानको कुरा हो।

ncell in
वर्तमान प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेपछि पनि संविधानको धारा ७६(३) बमोजिम पुनः प्रधानमन्त्रीमा नियुक्त हुनु भएपछि धारा ७६(४) बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने अनिवार्य सर्त रहेकोमा सो सर्त पूरा गर्न सक्नु भएन । परिणाम त संविधान बमोजिम प्रधानमन्त्रीको पदमा रही रहन संविधान अनुकूल नहुनेमा त्यसको अनदेखा गरी संविधानको धारा ७६(५) बमोजिमको प्रक्रियामा दाबी गर्नु भएको देखिन्छ, जो पूर्णतया असंवैधानिक हो।

यसरी प्रतिनिधिसभाको विश्वास गुमाएको वा प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न नसकेको प्रधानमन्त्रीले वैकल्पिक सरकार गठन गर्ने प्रक्रियामा सहजै मार्ग प्रशस्त गर्नुपर्नेमा प्रधानमन्त्रीको लागि पुनः दाबी पेस गरेको र धारा ७६(५) अन्तर्गत प्रतिनिधिसभाका बहुसंख्यक बहालवाला सदस्यहरूको हस्ताक्षर सहित प्रतिनिधिसभाबाट विश्वास प्राप्त गर्नसक्ने आधार देखाई प्रधानमन्त्रीमा नियुक्तिको लागि अर्को दाबी प्रस्तुत गरेकोमा प्रतिरोध गरेको देखिन्छ। 

संविधान बमोजिम राष्ट्रपतिले संविधानको धारा ७६ को विभिन्न अवस्थाहरूको अधीनमा रही प्रतिनिधि सभा भित्रबाटै प्रधानमन्त्री नियुक्त गर्ने र सो प्रयोजनको लागि जो चाहिने उपयुक्त र विवेकशील प्रक्रिया अपनाई सहजीकरण गर्ने अपेक्षा गरिन्छ । राष्ट्रपतिद्वारा वैकल्पिक सरकारको लागि धारा ७६(५) अन्तर्गत सम्बन्धित सदस्यले गरेको आधार र कारण सहितको दाबीको अन्तर्यमा प्रवेश गर्नुभन्दा प्रतिनिधिसभाको विश्वास प्राप्त गर्न नसकेको पक्षको हित एवं दाबीमा भर परी प्रतिनिधिसभालाई आफ्नो विश्वास व्यक्त गर्ने वा नगर्ने कुराको अवसर नदिई दाबी इन्कार गरेको देखिन्छ।

प्रतिनिधिसभाबाट सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले पटक–पटक विश्वासको मत प्राप्त गर्न असफल भएको कुराको कानुनी परिणामलाई अनदेखा गरी निजलाई नै निरन्तरता दिएको पाइन्छ । विश्वासको मत प्राप्त गर्न नसकेको कारणले विश्वासको मत प्रदान नगर्ने प्रतिनिधिसभालाई दण्डित गर्ने खालको अवसर दिई धारा ७६(७) बमोजिम भनी राष्ट्रपतिद्वारा प्रतिनिधि सभा विघटन भएको समेत पाइन्छ।

सम्मानित सर्वोच्च अदालतबाट गत २०७७ फागुन ११ गतेको फैसलाबाट पुनर्स्थापित भएको प्रतिनिधिसभालाई पुनः विघटन गरिएबाट सर्वोच्च अदालतको फैसलाको मर्म र भावनाको सम्मान नभएको, नगरिएको र फैसलाले दिएको परिणाम कसैको स्वार्थको खातिर निरर्थक तुल्याएको छ । यसबाट कानुनको सर्वोच्चताको सिद्धान्त नमान्ने र कानुन प्रभावहीन हुने गम्भीर स्थिति खडा भएको छ । लोकतन्त्रको लागि यस्तो स्थिति खतरनाक हुनसक्छ।

अर्को तिर प्रधानमन्त्रीले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि कानुन बमोजिम पदमा बहाल रहन अयोग्यता सिर्जना भई पदमुक्त हुने संवैधानिक प्रावधान भए पनि पदमा रही रहने परिस्थिति तर्जुमा गर्ने कोसिस भएको देखिन्छ । विश्वासको मत प्राप्त गर्न पटक–पटक नसकेपछि पनि पदमा निरन्तर रही रहन र विश्वासको मत प्राप्त गरेको वैध सरकारको जस्तो सबै भूमिका खेलिरहन खोज्नु संविधान, प्रजातन्त्र र विवेक कुनै कुराले पनि दिँदैन।

कोभिड १९ को महामारी, जनताको असामान्य र कष्टप्रद दैनिकी सहितको जीवनको माझमा भरपर्दो र नियमित सरकारद्वारा विभिन्न समस्याहरूको सम्बोधन गर्ने वातावरण निर्माण गर्नुपर्नेमा धारा ७६ को प्रयोगको सम्बन्धमा हाल भएका अभ्यासहरू संविधानको अक्षर र भावना एवं प्रजातन्त्रको मूल मर्म प्रतिकूल भई विपरीत दिशा तर्फ संविधान कार्यान्वयन भइरहेको आभास हुन्छ।

यसले संविधान नै समाप्त हुने खतरा बढेर गएको छ । संसद्लाई बारम्बार विघटन गरी संसद्लाई अकारण दण्डित गरी अध्यादेशको खोलो बगाई काम चलाऊ बजेट मात्र ल्याउनुपर्नेमा पूर्ण बजेटलाई विधिको उपहास समेत गरिएको छ। देशले धान्न नसक्ने अस्थिरता र राजनीतिक द्वन्द्वको नयाँ शृङ्खला सुरु हुनबाट रोक्न र जनताको सार्थक र निर्णायक अभिमतद्वारा प्रजातन्त्रको अभ्यास निरन्तर हुन दिनको लागि संविधान कार्यान्वयनका अभिभारा ग्रहण गरेको सम्माननीय राष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायतको सम्बन्धित सबैमा संविधान प्रतिको निष्ठा र जबाफदेहिता बोध गर्न अनुरोध गर्दछौँ र विद्यमान परिस्थिति सच्याउन र शान्ति, संयम र विवेक प्रदर्शित गर्न अनुरोध गर्दछौँ। 

पूर्वप्रधानन्यायाधीशहरू
श्री मीनबहादुर रायमाझी
श्री अनुपराज शर्मा
श्री कल्याण श्रेष्ठ
श्री सुशीला कार्की

मिति: २०७८।२।१४

यो पनि