काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले प्रतिनिधिसभा विघटनविरुद्ध कानुनी, राजनीतिक उपचार खोज्ने भएको छ।
शनिबार पार्टी हेडक्वाटर पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोमा भएको प्रतिनिधिसभा विघटनको निर्णयविरुद्ध संघर्ष गर्दै कानुनी उपचार खोज्ने निर्णय गरेको हो।
बैठकपछि नेकपा माओवादीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टी राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोमा भइरहेको यस प्रकारको असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश, प्रतिगामी एवम् राष्ट्रघाती कदमविरुद्ध कानुनी र राजनीतिक सबै प्रकारको संघर्ष गर्न प्रतिबद्ध छ।’
प्रचण्डले राष्ट्रियता र सार्वभौमसत्ता पक्षधर सबै दल र बुद्धिजीविलाई संघर्ष गर्न अपिलसमेत गरेका छन्।
‘माओवादी केन्द्र राष्ट्रिय सार्वभौमिकता एवम् स्वाधीनता, संविधान र लोकतन्त्र पक्षधर सबै राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी, कानुनविद्, मानवअधिकारवादी, पेशाकर्मीलगायत आम जनसमुदायलाई एकतावद्ध भएर राष्ट्रिय स्वाधिनता, संविधान, लोकतन्त्र र अग्रगमनको पक्षमा उभिन र संघर्ष गर्न हार्दिक अपील गर्दछ,’ प्रचण्डले सार्वजनिक गरेको विज्ञप्तिमा थप भनिएको छ।