बैशाख १३, २०८१, बिहीबार
               

प्रधानमन्त्रीले विश्वासको मत नपाउने पक्कापक्की

नेपाल फ्ल्यास
बैशाख २६, २०७८

ADVERTISEMENT

जनता समाजवादी जसपाका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने जानकारी गराएका छन् । आइतबार बिहान ओलीलाई भेट्न बालुवाटार पुगेका ठाकुरले विश्वासको मत नदिने बरु तटस्थ बस्ने जानकारी गराएका हुन् ।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रयोजनका लागि सोमबार (वैशाख २७ गते) संसद्को विशेष अधिवेशन बोलाइएको छ । 

काँग्रेस सभापति शेरबहादुर देउवालाई भेटेपछि अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्रीलाई भेट्न बालुवाटार गएका थिए । जसपाका अर्का अध्यक्ष डा. बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षले यसअघि नै ओलीलाई साथ नदिने बताइसकेका छन् । 

ठाकुर र महतोले पनि साथ नदिने भएपछि प्रधानमन्त्रीले विश्वासको मत पाउने सम्भावना सकिएको छ । एमालेकै माधव नेपाल पक्ष, नेपाली काँग्रेस र माओवादी केन्द्र पनि ओलीको विपक्षमा उभिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको उनकै पार्टीका माधव नेपाल पक्षले सामूहिक राजीनामा दिने तयारी गरेका छन् । उता नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अविश्वासको प्रस्ताव दर्ताको अन्तिम तयारी गरेका छन् ।

पार्टीभित्रबाट ओलीलाई असहयोग भइरहँदा जनता समाजवादीले समेत तटस्थ बस्ने निर्णय लिएपछि ओलीले विश्वासको मत नपाउने सम्भावना बढेको छ । सोमबारसम्म राजनीतिक वृत्तमा कुन ठुलो उथलपुथल नभए ओली सरकारले विश्वासको मत नपाउने देखिएको छ ।


कस्तो लाग्यो ?

यो पनि