मंसिर ०७, २०८१, शुक्रबार
               

नयाँ सरकार गठनबारे कांग्रेसमा विवाद छैन : शर्मा

नेपाल फ्ल्यास
चैत २८, २०७७

ADVERTISEMENT

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसभित्र कुनै विवाद नभएको बताएका छन् ।

नेपाली कांग्रेस तथा नेविसंघ लमजुङ–काठमाडौं सम्पर्क समितिले आज राजधानीमा आयोजना गरेको नयाँ वर्ष २०७८ को शुभकामना आदान-प्रदान तथा चियापान कार्यक्रममा शर्माले सो बताएका हुन् । 

‘कांग्रेसभित्र वर्तमान सरकारको विकल्प खोज्नेबारे सबै नेताहरुको एकमत रहेको छ । कांग्रेस सरकारको नेतृत्वमा निर्वाचनमा जानेबारे पार्टीभित्र एउटै धारणा छ,’ उनले भने । बाहिर सञ्चारमाध्यममा आएजस्तो कांग्रेसभित्र कुनै विवाद नभएको उनको भनाइ छ ।

कांग्रेस प्रचार-प्रसार विभाग प्रमुखसमेत रहेका प्रवक्ता शर्माले नेपाली कांग्रेस राजनीति दल मात्र नभएर समाजको प्रतिनिधित्व भएको बताउँदै कांग्रेसले मात्र मुलुकलाई सही बाटोमा लैजाने बताए । कांग्रेसको छवि बदलेर संगठनात्मक स्वरुप बदल्नुपर्ने प्रवक्ता शर्माको भनाइ छ । उनले कांग्रेसभित्र सबैले आफ्नो जिम्मेवारीलाई सही ढंगले निभाउन सके मात्र कांग्रेस रुपान्तरण हुने बताए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिलबहादुर घर्तीले कांग्रेसलाई मजबुद र एकताबद्ध बनाए मात्र आगामी निर्वाचनमा जित हासिल गर्न सकिने बताए । विगतका अनुभवलाई विचार गरेर नयाँ पिँढीलाई कांग्रेसबारे प्रशिक्षण गर्नुपर्ने उनको भनाइ थियो ।

कांग्रेस लमजुङका सभापति भेषबहादुर पौडेलले पार्टीभित्र देखिएको गुट, उपगुटलाई अन्त्य गरे मात्र कांग्रेस बलियो हुने बताए । पूर्वसहायकमन्त्री डा. रामचन्द्र अधिकारीले कांग्रेसभित्र साझा नेतृत्व आवश्यक रहेको उल्लेख गरे । सम्पर्क समितिका अध्यक्ष प्रदीप अधिकारीले लमजुङमा कांग्रेसको संगठन बलियो बनाउनका लागि एकजुट भएर लाग्नुपर्ने अवस्था आएको बताए ।


कस्तो लाग्यो ?

यो पनि