बैशाख १७, २०८१, सोमबार
               

संसद्मा जुहारी, गगन थापा भर्सेस महेश बस्नेत

नेपाल फ्ल्यास
चैत २६, २०७७

ADVERTISEMENT

बिहीबारको प्रतिनिधिसभा बैठकमा सत्तारुढ दल एमाले र कांग्रेसका सासंदबीच जुहारी चलेको छ, त्यो पनि चर्चित नेता कगन थापा र महेश बस्नेतबीचमा । 

संसद्मा बहस गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती दिएका कांग्रेस सांसद थापालाई एमाले सांसद बस्नेतले सांसदको सङ्ख्या कति हो भन्ने सम्झाए ।

सुरुमा प्रतिनिधिसभाको विशेष समय लिएर थापाले ओलीको नेतृत्वमा सरकार बेनपछिका तीन वर्षमा केके भए त्यसमाथि सदनमै बहस गर्न चुनौती दिए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्षमा चमत्कार भयो भने पनि राष्ट्रिय गौरव आयोजना वर्षौँदेखि थला परेको आरोप लगाए । 

तर, प्रधानमन्त्री ओलीले उद्घाटन र शिलान्यासमा व्यस्त रहेको र ‘यति धेरै विकास निर्माणको काम कहिल्यै भएको थिएन, यो त चमत्कार भयो’ भनिरहेको भन्दै थापाले असन्तुष्टि जनाए । वास्तविकता के छ भन्ने थाहा नभएर वा ढाँट्ने बानी लागेर यसो भएको भन्दै थापाले अघि भने, ‘यो दुवै राष्ट्रका लागि हानिकारक छ ।’

३ फागुन २०७४ मा केपी शर्मा ओली प्रधानमन्त्री र २ चैत २०७४ मा विना मगर खानेपानी मन्त्री भएको स्मरण गर्दै थापाले भने, ‘२९ चैत २०७४ मा मेलम्चीको सुरुङ छिचोलेर उपराष्ट्रपतिले रिबन काट्नुभयो र प्रधानमन्त्रीले यही रोष्ट्रममा उभिएर भन्नुभयो २०७५ असोजमा मेलम्चीको पानी आउँछ ।’ 

‘यो भयो भनेको छ, त्यो भयो भनेको छ । हुँदाहुँदै निर्माण सम्पन्न भएर दुई वर्षदेखि सञ्चालनमा रहेको पुलको उद्घाटन गरेको छ । बीच बाटोमा पुगिसकेको कामको शिलान्यास गरेको छ,’ थापाको आक्रोश थियो । 

प्रधानमन्त्री र खानेपानी मन्त्रीको कुरा नमिलेको र ठेकदारसँग मोलमोलाइ भएका कारण सुरुङ छिचोलेपछि पनि पानी आउन साढे २ वर्ष लागेको र डेढ अर्ब अनावश्यक खर्च भएको उनको दाबी छ । कांग्रेस सांसद थापाले भने, ‘५७ दिनमा चमत्कार भएको थिएन, पहिलादेखि नै काम भएको थियो । नौ महिना त यो आयोजनामा सिन्को पनि भाँचिएन । अनि अहिले यत्रो फुर्ती ?’

लगतै कांग्रेस सांसद थापालाई जवाफ फर्काउँदै एमाले सांसद बस्नेतले अहिले रहेको सांसदको सङ्ख्या देखाए । ‘२०६४ सालमा एमालेलाई जनताले ३४ सिटमा सीमित गरिदिएका थिए । २०७४ को निर्वाचनमा जनताले कांग्रेसलाई २३ सिटमा सीमित गरिदिएका छन् । समानुपातिकसमेत हिसाब गर्दा उहाँहरूको ६३ सिट छ,’ उनले भने, ‘त्यसो हुनाले प्रधानमन्त्रीलाई च्यालेन्ज गरेर बालहठ देखाउने साथीहरूलाई म भन्न चाहन्छु, यो बोकाको शैलीले दाईं गरिँदैन, दाईं गर्न गोरुकै शैली चाहिन्छ ।’ 

संसदको यही सङ्ख्या देखाउँदै नेता बस्नेतले संसदमा सबैभन्दा ठुलो दलको हैसियतले नेकपा एमालेले नै प्रतिनिधित्व गर्ने बताए ।

‘आज संसदमा सबैभन्दा ठुलो दलको हैसियतले नेकपा एमालेले प्रतिनिधित्व गर्छ र प्रधानमन्त्रीले ल्याएका असङ्ख्य योजनाहरूलाई हामीले सके सहयोग गरौँ नसके वस्तुनिष्ठ ढङ्गले त्यसको विरोध गरौँ,’ नेता बस्नेतले भने ।

गत निर्वाचनमा नेकपा एमालेले १२१ सिट जितेको थियो । एमालेले प्रत्यक्षतर्फ ८० सिट र समानुपातिकतर्फ ४१ सिट हो ।  कांग्रेसले प्रत्यक्षमा २३ र समानुपातिकमा ४० सिट जितेको थियो । नेकपा माओवादी केन्द्रले प्रत्यक्षमा ३६ र समानुपातिकमा १७ सिट जितेको थियो । संसदमा हाल जनता समाजवादी पार्टीको एकीकरणपछि अहिले ३४ सांसद छन् ।


कस्तो लाग्यो ?

यो पनि