बैशाख १४, २०८१, शुक्रबार
               

प्रधानमन्त्री ओलीमाथि राजीनामाको दबाब बढाउँदै कांग्रेस

नेपाल फ्ल्यास
चैत २३, २०७७

ADVERTISEMENT

प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै आफ्नै नेतृत्वमा वैकल्पिक सरकार निर्माणको पहल गर्ने निर्णय लिएको प्रमुख प्रतिपक्ष कांग्रेसले सरकारविरुद्ध थप दबाब बढाउने रणनीति अख्तियार गरेको छ। प्रतिनिधिसभा पुनः स्थापना भएको ३८ दिनपछि पार्टीको औपचारिक बैठकमार्फत् ओलीको राजीनामा मागेको कांग्रेसले वैकल्पिक सरकार बनाउन अग्रसरता लिएको छैन । तर, प्रधानमन्त्रीको राजनीनाको विषयमा भने सदन तताएको छ ।  

कांग्रेस केन्द्रीय कार्यसमितिको शुक्रबारको बैठकले वैकल्पिक सरकार निर्माणको पहलका लागि पहिलोपल्ट औपचारिक निर्णय गरेको थियो । निर्णयलगतै नेताहरूले सरकारको औचित्य नभएको भन्दै सरकारले मार्गप्रशस्त गर्नुपर्ने तर्क राख्दै आएका छन् । 

आफैँले विघटन गरेको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले असंवैधानिक भनिसकेपछि ओलीले नैतिकताका आधारमा राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने कांग्रेस सांसदहरूको तर्क छ। 

कांग्रेस सांसद देवेन्द्रराज कँडेलले प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने माग गरे । नभए उनले विश्वासको मत लिनुपर्ने जिकिर गरे । प्रतिनिधिसभाको विशेष समयमा बोल्दै कँडेलले प्रश्न उठाए ‘हिजो नेकपाले विश्वासको मत लिएको हो । अदालतको आदेशबाट नेकपा विभाजन भएको हो भने केपी ओलीमा अलिकति पनि आफ्नो समर्थन छ भन्ने लाग्छ भने विश्वासको मत लिने कि नलिने ? उहाँ पन्छिन पाउनुहुन्न । उहाँले समर्थन फिर्ता लेऊ भन्न पाउनुहुन्न । उहाँले विश्वासको मत लिनुपर्छ ।’ 

संविधानको धारा १०० को उपधारा २ अनुसार प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने उनको भनाइ छ ।

सांसद डिला सङ्ग्रौलाले प्रतिनिधिसभाको विशेष समयमा बोल्दै प्रधानमन्त्री ओलीले शासन गर्ने नैतिकता गुमाएकाले तत्काल राजीनामा दिनुपर्ने माग गरिन् ।

सत्ता टिकाउन प्रधानमन्त्री ओली जे–जस्तो कूकर्म गर्न पनि तयार हुने भन्दै उनले उनका गतिविधिले पुष्टि गरेको दाबी गरिन् । प्रतिनिधिसभाको खुल्ला विमर्शभन्दा बालुवाटारको कोठे बैठक प्रिय भएको प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा पुनः स्थापनापछि संसद्लाई बिजनेसविहीन बनाएको आरोप लगाइन् ।

‘प्रधानमन्त्री ओलीले विघटन गरेको प्रतिनिधिसभा पुनः स्थापना भएको र अहिले उनी सत्ता टिकाउन जे पनि गर्न लागिपरेकाले म संसद्मार्फत् प्रधानमन्त्रीको राजीनामा माग्छु,’ सांसद सङ्ग्रौलाले भनिन्, ‘भ्रष्टाचार र सरकार एक अर्काका परिपूरक हुन्। जनताप्रति अनुत्तरदायी सरकार चाँडोभन्दा चाँडो बहिर्गमन आजको आवश्यकता हो ।’

यस्तै कांग्रेस सांसद लक्ष्मी परियारले वर्तमान सरकारले प्रशंसनीय काम गर्न नसकेको धारणा राख्दै अर्को सरकार गठनमा मार्ग प्रशस्त गर्नुपर्ने बताइन् । सरकारले काम गर्न नसकेकोले अब छाड्नुपर्ने उनको भनाइको आशय थियो ।

उनले भनिन्, ‘सरकारको प्रशंसा गर्न पर्‍यो किन नगरेको भनेर सरकार पक्षका माननीयज्यूहरुले खुबै रोइलो गर्नुहुन्छ । प्रशंसा गर्नका लागि सरकारले कुनै त्यस्तो काम गरेको छैन । प्रशंसनीय काम हुनुपर्‍यो नि ! सरकारले जनता आक्रोशित हुने काम गर्ने, त्यसैले हामी प्रशंसा गर्न सक्दैनौँ रोइलो बन्द गर्नुहोस् माननीय ज्यूहरू । हामी कसैको मृत्युमा हाँस्न सक्तैनौँ।’

यो पनि