
प्रतिनिधिसभा पुनः स्थापना भएपछि सरकारले काम नदिँदा शोक प्रस्ताव, संवैधानिक निकाय, संसदीय समितिका वार्षिक प्रतिवेदन पेस गर्दै बैठक सकिँदै आएका छन् । सङ्घीय संसद सचिवालयका अनुसार यतिबेला ३६ विधेयक विभिन्न प्रक्रियामा रहे पनि अघि बढ्न सकेका छैनन् ।
केही विधेयक संसदीय समितिबाट पास भएर प्रतिनिधिसभाको बैठकमा पेसका लागि तयारी अवस्थामा रहे पनि सरकारले चासो नदिँदा अलपत्र परेका छन् ।
यस्तै, अवस्थामा प्रतिनिधिसभा बैठक सोमबार बस्दै छ । सोमबार बस्ने प्रतिनिधिसभा बैठकका लागि सम्भावित तीन कार्यसूची तय गरिएको छ । सङ्घीय संसद् सचिवालयले आइतबार प्रकाशन गरेको सम्भावित कार्यसूचीमा संसदीय समिति तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक कार्यसूची पेस गर्ने सम्भावित कार्यसूची हो ।
प्रधानमन्त्रीका केपी शर्मा ओलीको तर्फबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०७६–२०७७को वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची छ । यस्तै सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन २०७७ पेस गर्नेछन् ।
यस्तै, राज्यव्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०७७ पेस गर्ने सम्भावित कार्यसूची रहेको सङ्घीय सांसदका महासचिव डा.भरतराज गौतमले जनाएका छन् ।
प्रतिनिधिसभा बैठकमा सांसदहरूलाई बोल्नका लागि कार्यसूचीमा उल्लेख नगरिएको विशेष समय र शून्य समयको व्यवस्था हुनसक्ने सङ्घीय सांसदका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिए ।
मन्त्री छलफलमा सहभागी नभएसम्म विधेयक अघि बढ्दैन । विधेयक अघि बढाउने काम सरकारको भए पनि सरकारले यसमा चासो दिएको छैन ।