काठमाडौं । राप्रपाबाट नेपाली कांग्रेस प्रवेश गरेका सहमहामन्त्री सुनील थापा समूहले १० हजार पाँच सय १८ क्रियाशील सदस्यता पाउने भएको छ ।
थापाले ४८ जिल्लामा गरी उल्लेखित संख्यामा क्रियाशील सदस्यता प्राप्त गरेका हुन् । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकअघि सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच ४८ जिल्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट नेपाली कांग्रेस प्रवेश गरेका नेता कार्यकर्ताको व्यवस्थापनका लागि क्रियाशील सदस्यता थप गर्ने सहमति भएसँगै उनले उल्लेखित संख्यामा क्रियाशील सदस्यता पाउने भएका हुन् ।
चैत १० सम्म क्रियाशील सदस्यता बुझाउने समयसीमा तोकिएकोमा अब वैशाख पहिलो सातासम्म समय थप्ने विषयमा देउवा–पौडेलबीच सहमति भएको छ ।
दिउँसो २ बजेका लागि बोलाएको बैठक केहीबेर अघिसम्म सुरु हुन सकेको छैन । प्रधानमन्त्रीका लागि सभापति शेरबहादुर देउवाले अग्रसरता नलिएको भन्दै पार्टीले कुनै अर्को व्यक्तिलाई प्रधानमन्त्रीका रुपमा अगाडि सार्नुपर्ने विषय बैठकमा उठ्ने सम्भावना रहेको बुझिएको छ ।