काठमाडौं । आज माओवादी केन्द्र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बदरको फैसलाविरुद्ध पुनरवलोकनमा सर्वोच्च अदालत पुगेर निवेदन दिने भएको छ । आज बिहान ११ बजे निवेदन दिन माओवादी केन्द्रका नेता अदालत जाने माओवादी स्रोतले जनाएको छ ।
पार्टीको नाम विवादबारे ऋषि कट्टेलले २ वर्षअघि हालेको मुद्दामा सर्वोच्च अदालतले गत फागुन २३ गते उनकै नेकपा वैधानिक र एमाले–माओवादी केन्द्र मिलेर बनेको नेकपा अवैधानिक भनेर फैसला गरेको थियो ।
साथै, ती पुरानै दुई दल कायम गरिदिएपछि नेकपाबाट अलग्गिएकाे एमाले र माओवादीका कतिपय नेता अदालतले मागदाबीभन्दा बढी फैसला गरेर राजनीतिक निर्णय गरेको भन्दै असन्तुष्ट भएका छन् ।
यसै क्रममा माओवादी केन्द्रले फैसलाविरुद्ध पुनरवलोकन गर्ने निर्णय गर्दै कानूनविद्सँगको परामर्शमा निवेदनसमेत तयार पारिसकेको थियो ।