बैशाख ०८, २०८१, शनिबार
               

राप्रपा लुम्बिनी प्रदेशको उद्घोष : समानुपातिकतर्फ कम्तीमा १५ प्रतिशत मत

नेपाल फ्ल्यास
चैत १२, २०७७

ADVERTISEMENT

बुटवल । राप्रपालाई आगामी निर्वाचनमा कम्तीमा १५ प्रतिशत समानुपातिक मत दिलाउने महत्त्वाकांक्षी लक्ष्यसहितको रणनीति राप्रपा लुम्बिनी प्रदेशले बनाएको छ ।

बुटवलमा हिजो बुधबार राति अबेर सकिएको प्रदेश समितिको बैठकले ढिलोचाँडो अहिले निर्वाचन भए पनि त्यसमा कम्तीमा १५ प्रतिशत समानुपातिक मत दिलाउने गरी रणनीति पास गरेको छ ।

प्रदेश अध्यक्ष प्रदीपकुमार उदयले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा राप्रपाबाट आगामी स्थानीय, प्रदेश तथा संघीय संसदमा सबैभन्दा बढी योगदान पुर्‍याउने उल्लेख छ । 

यस्तो महत्त्वकांक्षी लक्ष्य किन लिएको भनी नेपाल फ्ल्यासले गरेको प्रश्नमा अध्यक्ष उदयले प्रदेश ५ बाट विगतमा पनि राप्रपाले सर्वाधिक सिट जितिसकेको र आगामी दिनमा पनि त्यो संभावना जिवन्त रहेको दाबी गरे । उनले भने- 'नवलपरासीदेखि बर्दियासम्म हामी राम्रो संगठन सुदृढ र चुस्त अवस्थामा छ । हेर्दै जानुस्, त्यो लक्ष्य पूरा गर्न हामी सक्षम हुनेछौँ ।'

अध्यक्षको प्रतिवेदनमा राप्रपाको एजेन्डा पूरा गर्न आन्तरिक तथा बाह्य परिस्थिति अनुकुल भएको उल्लेख छ । नेपालका प्रमुख राजनीतिक दल शासन संचालन र सुशासनमा असफल भएकोले अबको बिकल्प राप्रपा बन्ने प्रतिवेदनको विश्लेषण छ । अध्यक्ष उदयले भने- '१२ बुँदे समझदारीको मार्गचित्र त्रुटिपूर्ण भएको प्रमाणित भइसकेको छ । त्यसैले राप्रपा अबको निर्विकल्प वैकल्पिक शक्ति हो ।'

बैठकले लुम्बिनी प्रदेशको अधिवेशन बैशाख १५ गते बुटवलमा गर्ने निर्णय गरेको छ । अधिवेशन तयारीका लागि एक सय ५१ सदस्यीय आयोजक समिति गठन गरिएको छ ।

राप्रपा लुम्बिनी प्रदेशको बैठकमा नेताहरू धवलसम्सेर राणा, निरञ्जन थापालगायत सहभागी थिए ।


कस्तो लाग्यो ?

यो पनि