बैशाख १७, २०८१, सोमबार
               

मुलुकको अवस्थाप्रति पूर्वराजा चिन्तित

नेपाल फ्ल्यास
चैत १२, २०७७

ADVERTISEMENT

झापा । झापाको दमकमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह राजनीतिक एवं सामाजिक भेटघाटमा व्यस्त रहेका छन् ।

स्रोतका अनुसार पूर्वराजाले राप्रपा प्रदेश १ का अध्यक्ष राम थापा, उपाध्यक्ष सगुनसुन्दर लावती र राप्रपा नेता भक्ति सिटौलालाई अलगअलग भेटेका छन् । थापा र सिटौला झापामा लोकप्रिय छन् भने पूर्वमन्त्री पद्‍मसुन्दर लावतीका छोरा सगुन पाँचथरमा प्रभावशाली छन् ।

त्यसैगरी राप्रपा नेता बुद्धिमान तामाङलाई दमक बोलाएर पूर्वराजाले समसामयिक राजनीतिबारे छलफल गरेको बुझिएको छ । केही समयअघि राप्रपाले काठमाडौंमा राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनाको माग गर्दै विशाल प्रदर्शन गरेको थियो । राप्रपाले आन्दोलनको कमान्डर नेता तामाङलाई बनाएको थियो । त्यो परिवेशमा झापामा रहेका पूर्वराजाले प्रदेश ३ का बासिन्दा पूर्वमन्त्री तामाङसँग भेटघाट गर्नुलाई अर्थपूर्ण रूपमा लिइएको छ ।

प्रदेश १ का राप्रपा अगुवाहरूको भेटपछि नेता तामाङसँग चैत ५ गते भेटघाट भएको झापास्थित सुरक्षा स्रोतले जनाएको छ । राप्रपा नेता तामाङ आफ्ना सुरक्षागार्ड (पिएसओ)सहित पूर्वराजा भेट्न दमक पुगेका थिए ।

यसबाहेक अरू राजनीतिक तथा सामाजिक क्षेत्रका अगुवाहरूले पनि पूर्वराजालाई भेटेको खुलेको छ । पूर्वराजासँग भेट पाउनेमा विश्व हिन्दु परिषद्को महासचिव अस्मिता भण्डारी, महासंघका सचिव अमरकेशर सिंहलगायत छन् ।

पूर्वराजा मुलुकको दुरावस्था र राजनीतिक घटनाक्रमप्रति चिन्तित रहेको भेटघाट गरेका नेताहरूले जनाएका छन् । राप्रपा नेता सगुन सुन्दर लावतीले मुलुक जनताको चाहना र इच्छाअनुसार नबढेकोमा पूर्वराजा चिन्तित रहेको बताए । उनले भने- 'जनताले कष्ट भोग्नु नपरोस् र जनचाहना अनुरूप देश अघि बढ्नु पर्छ भन्ने पूर्वराजाको सदिच्छा मैले पाएँ ।'

पूर्वराजा केही दिनमै काठमाडौं फर्कने कार्यक्रम रहेको छ । 


कस्तो लाग्यो ?

यो पनि