काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता तथा पाटीए उपाध्यक्ष वामदेव गौतमले आफूले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग आत्मसमर्पण नगरेको प्रष्ट्याएका छन् ।
पछिल्लो समय आफ्नै पार्टीमा विवादले उग्ररुप लिएपछि पार्टी राष्ट्रिय एकता अभियान चलाउँदै आएका नेता गौतम प्रधानमन्त्री निवास बालुवाटरमा आयोजना गरिएको एमाले संसदीय दलको बैठकमा सहभागी हुन गएका थिए ।
उक्त समारोहमा सहभागीपछि उनले एमाले अध्यक्ष ओली समक्ष आत्मसमर्पण नगरेको र नगर्ने पनि प्रष्ट्याएका हुन् । नेता गौतमले ओली पार्टी अध्यक्ष भएकाले समूह भन्न नमिल्ने बताएका छन् भने ओलीको कार्यशैली गलत रहेकोसमेत दाबी गरेका छन् ।
उनले भने, ‘फागुन २८ को बैठक केन्द्रीय कमिटीको थिएन, त्यसले गरेका निर्णय फिर्ता लिनै पर्छ, पार्टीभित्र रहेका कमरेडहरुलाई उहाँहरुको अनुपस्थितिमा कुनै कारवाही गर्न मिल्दैन ।’
उनले प्रधानमन्त्री ओलीको अध्यक्षतामा गत फागुन २८ मा भएको केन्द्रीय कमिटी बैठकलाई केन्द्रीय नभएको जिकिर गरेका छन् ।