बैशाख १६, २०८१, आइतबार
               

सकियो सर्वदलीय बैठक, राष्ट्रपति र प्रधानमन्त्रीले के भने?

नेपाल फ्ल्यास
चैत ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रपति कार्यालयमा जारी सर्वदलीय बैठक सकिएको छ । 

राष्ट्रपतिद्वारा बदलिँदो राजनीतिक परिस्थितिमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलसँग छलफल गर्न बोलाइएको सो सर्वदलीय बैठक केही बेरअघि मात्रै सकिएको हो । बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली, काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जसपा अध्यक्ष महन्थ ठाकुरलगायत सहभागी भए । तर, बैठकमा नेपाल, झलनाथ बाबुराम भट्टराई भने सहभागी भएनन्। 

सो क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते गरेको प्रतिनिधिसभा विघटन सही भएको जिकिर गर्दै सरकार र संसद् राम्रोसँग सञ्चालन नभए पुन: संसद् विघटन गरी जाँदा राम्रो हुने धारणा राखेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित सर्वदलीय बैठकमा सहभागी नेमकिपा सांसद् प्रेम सुवालका अनुसार प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटनबारे कुरा उठाएका थिए ।

प्रधानमन्त्रीले सो कुरा उठाएसँगै नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले हामी त्यस्ता कुरा सुन्न यहाँ नआएको बताएका थिए । 

‘प्रधानमन्त्रीले बोल्ने क्रममा सरकार र संसद् चल्ने अवस्था नआएपछि विघटन गरेको हो भन्नुभयो । उहाँले संविधानको धारा ७६ र ८५ मा पनि विघटनको व्यवस्था गरिएको छ भन्नुभयो । सरकार र संसद् नचले फेरि पनि विघटन हुन्छ भन्नुभयो । त्यसमा आश्चर्य मान्नुपर्ने कुरा छैन,’ सुवालले प्रधानमन्त्रीलाई उद्धृत गर्दै भने ।

त्यसैगरी, राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानमै लेखिएको प्रावधानअनुसार नै प्रतिनिधिसभा विघटन गरेको भनी स्पष्ट गरेकी छिन् ।सो क्रममा भण्डारीले संविधानबमोजिम गरेको कामलाई अन्यथा नबुझ्न आग्रह पनि गरेकी छन् । 

‘मन्त्रिपरिषद् बैठकले सिफारिस गरेपछि राष्ट्रपतिले कार्यान्वयन गर्ने कुरा संविधानमै उल्लेख भएको विषय हो, ‘राष्ट्रपति भण्डारीको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले भने, ‘यसलाई अन्यथा बुझिदिनु भएन ।’ 

सो क्रममा प्रधानमन्त्री ओलीले पनि प्रतिनिधिसभा विघटनको औचित्य पुष्टि गर्ने प्रयास गरेका थिए ।


कस्तो लाग्यो ?

यो पनि