बैशाख १४, २०८१, शुक्रबार
               

माधव समूहको राष्ट्रिय भेलामा सहभागी हुनेलाई कारवाही गर्ने ओलीको चेतावनी

नेपाल फ्ल्यास
चैत ०३, २०७७

ADVERTISEMENT

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको नाममा माधव नेपाल पक्षले छुट्टै गुटको भेला गरे कारवाही गर्न सक्ने चेतावनी दिएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार पार्टीका केन्द्रीय सदस्यहरूका लागि गरिएको चियापान कार्यक्रममा बोल्दै उनले पार्टीमा बसेपछि उच्छृङ्खल गतिविधि गर्न तथा विधान विपरितका काम गर्न छुट नदिइने बताए ।

‘यस पार्टीमा अब उप्रान्त विधि विधानविरोधी क्रियाकलापमा छुट हुने अवस्था हुँदैन । अब सहेर बस्दैनौं । अचाक्ली भयो । पार्टीमा विधान छ, नियमावली र दलसम्बन्धी कानून छ । हामीले खोजेको अनुशासन हो । भोलिको भेलामा नेकपा एमाले सम्बद्ध कोही पनि नजान निर्देशन दिन्छु । सजग र सचेत गराउन चाहन्छु' उनले भने 'पार्टी अध्यक्षले बोलाउँदा नआउने कसको निम्ता पाए चियापानमा जानुहुन्छ ? यो त सबैलाई थाहा छ तर भन्न भएन । अझै केही समय बाँकी छ । भोलिको भेला गर्नुहुन्छ कि गर्नु हुन्न त्यो तमासा हेर्न बाँकी छ । भोलि एक नजर त्यता लगाइन्छ ।’

उनले थपे–‘एकथरी अनुहार आज चियापानमा देखिएनन्,यो राम्रो लक्षण हैन । उहाँहरुले त्यस्तो निर्णय गरेको होइन होला भन्ने म ठान्छु । अझै केही समय बाँकी छ ।  भोली गुटगत भेला राख्नुहुन्छ राख्नुहुन्न कतिको तमासा गर्नुहुन्छ एक नजर त्यता राखिनेछ । पार्टीलाई धम्क्याएर घुर्क्याएर ठेगान लगाउँछु भन्ने सोचेको छ भने पार्टी विधी विधान अनुसार चल्छ नचाहिने कुराका अगाडि लत्रिने कुरा छैन ।’

उनी सभामुखमाथि पनि खनिएका छ । सभामुखले मन्त्रीलाई बोल्न नदिएर सरकारलाई संवैधानिक दायित्वबाट बञ्चित गराएको आरोप लगाए । सभामुखविरुद्ध आक्रमक रुपमा प्रस्तुत भएका प्रधानमन्त्री ओलीले आफैले मुद्दा जितेर ल्याएको संसदमा विरोध गरेर कामै गर्न नदिने अवस्था आएको बताए ।

‘किन विघटन भएको थियो, के औचित्य थियो अव पुष्टि हुन्छ । मुद्धा लडेर जितेको ल्याएको संसद पहिलो दिनदेखि नै आफैले चल्न नदिने, आफै बहिष्कार गर्ने, आफै बिथोल्ने, नारा लगाउने अवस्था बन्यो । अध्यादेश संविधान अनुसार पहिलो बैठकमा पस्तुत गर्न दिइएन । संविधान अनुसार सरकारलाई पहिलो बैठकमा पेश गर्न नदिएर संविधान उल्लंघन गरियो । मन्त्रीलाई अध्यादेश प्रस्तुत गर्दै गर्दा सभामुखले रोकेर बैठक अर्को दिनलाई सारियो’ उनले भने ।

भोलि नेकपा एमालेका नेता माधवकुमार नेपाल, झलनाथ खनालसहितको टोलीले राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेका छन् । उनीहरुले उक्त भेला नरोक्ने भन्दै आजै तयारीका बारेमा पत्रकार सम्मेलन आयोजना गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि