जेठ ०६, २०८१, आइतबार
               

एमालेको दुवै पक्षको समानान्तर गतिविधि कायम रहने
ओलीले एकलौटी गरेको निर्णय रद्द गर्न नमानेपछि नेपाल पक्षको भेला पनि नरोकिने

ADVERTISEMENT

नेकपा (एमाले) का दुई पक्षले अघि बढाइरहेको समानान्तर गतिविधिले निरन्तरता पाउने पाउने भएको छ। सोमबार पार्टी कार्यालय धुम्बाराहीमा भएको वार्तामा दुवै पक्ष टसमस नभएपछि दुवै पक्ष आ–आफ्नै ढंगबाट अघि बढ्ने भएका हुन् ।

केपी शर्मा ओली र माधवकुमार नेपाल पक्षले छलफलमा आ–आफ्नो अडान राखे । छलफलमा नेपाल पक्षले फागुन २८मा ओली पक्षले गरेका निर्णय खारेज गर्नुपर्ने अडान राखेको थियो । सो भेलाबाट ओलीले नेताहरूको जिम्मेवारी हेरफेर गर्ने, केन्द्रीय कमिटी सदस्य थप्नेदेखि विधान संशोधन गर्नेसम्मका निर्णय गरेका थिए ।

तर, नेपाल पक्षको अडानमा ओली पक्ष सहमत भएनन् । ओली पक्षले आफूअनुकूल गरेका निर्णय रद्द गर्न सहमति नजनाएपछि नेपाल पक्षले पनि चैत ४ र ५ गतेका लागि आयोजना गरेको राष्ट्रिय भेलालाई पनि निरन्तरता दिने बताएको छ । आ–आफ्ना अडान यथावत् रहेपछि सोमबारको छलफल निष्कर्षविहीन भएको छ । 

‘२८ गतेको निर्णय रद्द भयो भने मात्रै हामीले आयोजना गरेका आगामी कार्यक्रम पनि स्थगित गर्छौँ,’ तर उहाँहरूले नमानेपछि हामीले हाम्रो भेला निर्धारित समयमै गर्नेछौँ,’ बैठकपछि एमाले उपाध्यक्ष भीम रावलले भने ।

सर्वोच्च अदालतले एमाले ब्यूँताइदिएका कारण माओवादी केन्द्रसँग एकता गर्नुअघिकै संरचनाअनुसार पार्टी अघि बढ्नुपर्ने नेपाल पक्षको प्रस्ताव थियो । तर, ओलीले भने समय धेरै अघि बढिसकेको जवाफ फर्काए । दुवै पक्षले आ–आफ्नो अडान कायम राखेको र कुनै सहमति नभएको नेता रघुजी पन्तले बताए । 

वार्ताबाट निस्कँदै उनले भने, ‘वार्ता जारी छ, हामीले हाम्रो अडान राख्यौँ, उहाँहरूले पनि उहाँको अडान राख्नुभयो, फेरि वार्ता हुन सुक्छ, तर आज कुनै कुरा मिलेन ।’

प्रवक्ता प्रदीप ज्ञवालीले भने दुई पक्षबीच भएको छलफल सकारात्मक रहेको प्रतिक्रिया दिए । छलफलमा कुनै निष्कर्ष ननिस्के पनि साझा अवधारणाका लागि सकारात्मक भएको उनले भनाइ छ । 

‘नेकपा एमालेलाई सुदृढीकरण गरेर लैजानुपर्छ । यहाँभित्र जे अन्तर्विरोध छन् त्यसलाई समाधान गर्दै लैजानुपर्छ । बलियो नेकपा एमालेले मात्र अरू वामपन्थीहरूलाई क्रमशः पार्टी एकतामा जोड्दै सिङ्गो देशलाई एकताबद्ध गर्न सक्छ। सिङ्गो देशलाई नेतृत्व दिन सक्छ भन्ने कुरामा साझा निष्कर्ष निकालेका छौँ, तर यति हुँदाहुँदै पनि केही प्रश्नहरूमा हामी ठ्याक्कै निष्कर्षमा पुगिसकेका छैनौँ ।’

उता महासचिव ईश्वर पोखरेलले पार्टीका शीर्ष नेताहरूको छलफललाई जारी राखिने बताए । उनले छलफलमा एमालेलाई कसरी थप व्यवस्थित, एकताबद्ध बनाएर जाने भन्ने विषयमा छलफल भएको बताए । ‘पुनर्जीवन प्राप्त गरेको नेकपा एमालेलाई कसरी थप व्यवस्थित, एकताबद्ध बनाएर जाने भन्ने विषयमा छलफल गर्‍यौँ’, उनले भने,’ उद्देश्य प्राप्तिका लागि पहल प्रारम्भ भएको छ। त्यस दिशामा अघि बढ्छौँ ।’

 

पत्रकार पुडासैनी राजनीति एवं समसामयिक क्षेत्रमा कलम चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि