बैशाख ०८, २०८१, शनिबार
               

मुलुक ठूलो संकटमा फस्दै छ : लोहनी

नेपाल फ्ल्यास
फागुन २९, २०७७

ADVERTISEMENT

नुवाकोट । राप्रपा अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले अहिलेको कम्युनिस्ट सरकारबाट मुलुकले प्रगतिको सट्टा अधोगति लिएको आरोप लगाएका छन् ।

नुवाकोटमा आज भएको राप्रपाको एक कार्यक्रममा उनले सरकारबाट आम नेपाली जनता र देशले स्थायित्व, सुशासन र विकाशको आशा गरेकामा परिणाम उल्टो भएको बताए ।

तीन वर्षयता मुलुकमा स्थिरताको सट्टा अस्थिरता, सुशासनको सट्टा भ्रष्टाचार र आर्थिक अराजकता तथा भुईँफुट्टा वर्गको उत्थानमा भएको जनाए ।

अहिलेको सरकारले राज्यका अंगहरूलाई बाँदरको हातमा नरिवल सरह बनाएको टिप्पणी उनले गरेका छन् । अध्यक्ष लोहनीले राज्यका अंग कब्जामा राख्ने प्रयासका कारण देश 'न हासको चाल, न कुखुराको चाल'मा पुगेको बताए ।

उनले मुलुकका नागरिकको हितभन्दा एउटा भारदारी सभालाई उचाल्ने काम भएको भन्दै असन्तुष्टि व्यक्त गरे । अहिलेकै गतिले देश र सरकार अगाडि बढे मुलुक अझै ठुलो संकटमा फस्ने चेतावनी उनले दिए ।

गृह जिल्लामा भएको कार्यक्रममा अध्यक्ष लोहनीले नुवाकोटको आर्थिक विकासमा आफू सत्तामा रहँदा गरेका कामहरूको स्मरणसमेत गरेका थिए । उनले नुवाकोटलाई नेपालको विशेष औद्योगिक क्षेत्र र चीनसँग अन्तर्राष्ट्रिय व्यापारको केन्द्र बनाउने पहलकदमी गरेको बताए । त्यसैगरी काठमाडौँ-छहरे-टोखा सडक दुई लेनमा स्तरोन्नति गर्नुपर्ने उनले बताए ।

राप्रपा यतिबेला आफ्नो महाधिवेशनको तयारीमा जुटेको छ । त्यसै क्रममा नुवाकोटको शिवपुरी गाउँपालिका- ८ को वडा अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष लोहनी त्यहाँ पुगेका थिए ।

उनले राजसंस्था नहुँदा नेपाली जनता अभिभावकविहीन जस्तै भएको उल्लेख गरे । नेपालमा राजसंस्थासहितको प्रजातन्त्र पुनर्स्थापनाको महाअभियानमा साथ दिन उनले आग्रह पनि गरेका थिए ।


कस्तो लाग्यो ?

यो पनि