बैशाख २५, २०८१, मंगलबार
               

पुनर्स्थापनापछिको प्रतिनिधिसभा दोस्रो बैठक आज बस्दै, यस्तो छ कार्यसूची

नेपाल फ्ल्यास
फागुन २६, २०७७

ADVERTISEMENT

काठमाडौं । सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गरेपछि प्रतिनिधिसभाको दोस्रो बैठक आज (बुधबार) बस्ने भएको छ । उक्त बैठक आज दिउँसो १ बजे बस्ने संसदीय सचिवालयले जनाएको छ ।

सो बैठकमा ७ वटा अध्यादेश पेस गर्ने सम्भावित कार्यसूचीसमेत सार्वजनिक गरेको छ । यही फागुन २३ गतेको बसेको पहिलो बैठकमा सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पेश गर्दा फिर्ता लिन माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले घेराउ गरेर बैठक अवरुद्ध पारेको थियो ।

सोही क्रममा दाहाल–नेपाल समूहले पनि बैठक बहिष्कार गरेपछि स्थगित भएको थियो । त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले बैठक मंगलबार फागुन २५ सम्मका लागि स्थगन गरेका थिए भने अर्को बैठक आज फागुन २६ का लागि तोकेका थिए ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार आजको बैठकमा गृहमन्त्री रामबहादुर थापा ‘बादलले’ नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय (पहिलो संशोधन), सामाजिक सुरक्षा (पहिलो संशोधन), तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश पेश गर्ने कार्यक्रम रहेको  कार्यसूचीमा उल्लेख छ ।

साथै, स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले औषधि (तेस्रो संशोधन) अध्यादेश, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठले फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश र बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश पेश गर्ने सम्भावित कार्यसूचीमा जनाइएको छ । 

उल्लिखित अध्यादेश मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट जारी गरिएका थिए। अध्यादेश जारी भएको ६ महिनाभित्र अध्यादेश संसदबाट पारिन गरिनुपर्ने संवैधानिक व्यवस्था छ । साथै उक्त कार्यसूचीमा पूर्व तथा बहालवाला गरी १४ सांसदको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने पनि उल्लेख गरिएको छ ।


कस्तो लाग्यो ?

यो पनि