बैशाख २७, २०८१, बिहीबार
               

सर्वोच्चको फैसला अनुचित : दाहाल–नेपाल समूह

नेपाल फ्ल्यास
फागुन २५, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युुनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल पक्षले नेकपाको एकीकरण बदर गरी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ब्यूूँताउने सर्वोच्च अदालतको फैसला अनुचित भएको निष्कर्ष निकालेको छ । 

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार बसेको सो पक्षको स्थायी कमिटी बैठकले सर्वोच्चको उक्त निर्णय अनुुचित र राजनीतिक पूर्वाग्रहबाट प्रेरित रहेको निष्कर्ष निकालेको हो ।

सो पक्षले सर्वोच्चको फैसला रिट निवेदकको मागदाबी भन्दा बाहिर गएर राजनीतिक फैसलाका रुपमा लिएको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 

‘पार्टीको नामका सम्बन्धमा परेको रिट निवेदन हुँदाहुँदै नामका बारेमा निष्कर्ष निकाल्नुपर्नेमा त्योभन्दा बाहिर गएर फैसला गरिएको छ । कुनै राजनीतिक पार्टीको एकता गर्ने–नगर्ने र राजनीतिक पार्टीलाई विभाजन गर्ने सर्वोच्चको फैसलाप्रति हाम्रो गम्भीर असहमति छ’, उनले भने, ‘यो अस्वाभाविक, अनुपयुक्त र गलत छ, त्यसैले हामी यो फैसलाप्रति हाम्रो गम्भीर असहमति छ ।’

यद्यपि, सर्वोच्च अदालतको फैसलाप्रति गम्भीर असहमति हुँदाहुँदै उक्त फैसलालाई कार्यान्वयन गर्ने निष्कर्ष निकालिएको उनले बताए । उक्त फैसलाको कानूनी उपचार खोज्ने निष्कर्ष पनि बैठकले निकालेको प्रवक्ता श्रेष्ठको भनाइ छ । 

बैठकले नेपालका कम्युनिष्टलाई एउटै केन्द्रमा ल्याउने पहलकदमी र प्रक्रियालाई जारी राख्ने निर्णय गरेको उनले बताए । प्रवक्ता श्रेष्ठले नेकपाको हैसियतमा सोमबारको बैठक अन्तिम भएको बताए ।

‘अब नेकपाको हैसियतमा यो अन्तिम बैठक हुनसक्छ, सर्वोच्च अदालतको फैसला कार्यान्वयनमा जाने नै भयो, दुईवटा पार्टीका बीचमा फेरि एकताको पहल भयो भने त्यही ढङ्गले हुनेछ’, उनले भने । 


कस्तो लाग्यो ?

यो पनि