बैशाख २७, २०८१, बिहीबार
               

दलको नेतामा आफूलाई मान्यता दिन प्रचण्डद्वारा सभामुखलाई आग्रह
प्रचण्डलाई मान्यता दिए संसद बैठक अवरुद्ध गर्ने ओली पक्षको तयारी

नेपाल फ्ल्यास
फागुन २३, २०७७

ADVERTISEMENT

नेकपा दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले संसदीय दलको नेतामा आफ्नो समूहलाई मान्यता दिन सभामुख अग्नी सापकोटालाई आग्रह गरेका छन् । आइतबार बिहान दाहाल र नेपालले संसद् सचिवालयमा पुगेर सभामुख सापकोटालाई भेटेर यस्तो आग्रह गरेका हुन् ।

खास गरी नेकपा विवादपछि सो पार्टीमा संसदीय दलको नेता र प्रमुख सचेतक दुई–दुई जना छन् । प्रचण्ड–माधव पक्षले संसदीय दलको नेताबाट प्रधानमन्त्री ओलीलाई हटाएर पुष्पकमल दाहाल प्रचण्डलाई बनाएको छ भने ओली पक्षले प्रचण्ड–माधव पक्षमा लागेको प्रमुख सचेतक देव गुरुङलाई हटाएर विशाल भट्टराईलाई तोकेको छ ।

यस्तो अवस्थामा आज बस्ने प्रतिनिधिसभा बैठकमा सभामुख अग्नि सापकोटाले दलको नेता कसलाई मान्यता दिने हुन् भन्ने विषय जटिल बन्दै गर्दा प्रचण्ड–नेपाल पक्षले आफ्नो पक्षमा निर्णय लिन आग्रह गरेका हुन् ।

यता दलको नेताको हैसियतमा सभामुख सापकोटाले प्रचण्डलाई बोल्न दिएमा ओली पक्ष नै संसद बैठक अवरुद्ध गर्ने तयारीमा छ । सभामुख सापकोटा पूर्वमाओवादीका हुन् । प्रचण्डकै जोड बलमा उनलाई सभामुख बनाइएको थियो । यस कारण प्रचण्ड–नेपाल पक्षको आग्रह सभामुखले मान्न सक्ने ओली पक्षको आङ्कलन छ ।

दलको प्रमुख सचेतक भट्टराईलाई बनाएको घोषणा गरेको ओली पक्षले उनलाई सभामुख सापकोटाले भेट दिन अस्वीकार गरेको भन्दै असन्तुष्टि जनाएको छ । प्रतिनिधिसभा बैठक बस्नुअघि कसरी सभा सञ्चालन गर्ने भन्ने दलीय सहमतिका लागि सभामुखले प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरूसँग कार्य व्यवस्था परामर्श समितिको बैठक बस्ने चलन छ ।  तर आज परामर्श समितिको बैठक बस्ने नबस्ने टुङ्गो लागि सकेको छैन ।

यता संसद् सचिवालयले भने शनिवारै प्रतिनिधिसभाको सम्भावित कार्यसूची सार्वजनिक गरिसकेको छ । यद्यपि दलहरू बीचको परामर्शमा उक्त कार्यसूची परिवर्तन हुनसक्ने संसद सचिवालय स्रोतको भनाइ छ ।


कस्तो लाग्यो ?

यो पनि